छ वटा कम्पनीका १४ हेलिकप्टर काठमाडौं बाहिर रात्री पार्किङका लागि जाँदै

Advertisement

काठमाडौं । रात्री पार्किङका लागि छ वटा कम्पनीका १४ वटा हेलिकप्टर काठमाडौंबाहिर जाने तय भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हेलिकप्टर कम्पनीबीच गत साता रात्री पार्किङबारे सम्झौता भएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर डाइनास्टी हेलि सर्भिसेजको १, फिस्टेल एयरको १, माउन्टेनको १, प्रभु हेलिकप्टरका ४, श्री एयरलाइन्सका ४, सिम्रिक एयरको २ वटा हेलिकप्टर काठमाडौंबाहिर पार्किङका लागि जाने तय भएको छ । 

Advertisement

पोखरा, नेपालगञ्ज, लुक्ला र सिमिकोट विमानस्थलमा यी हेलिकप्टरहरु रात्री पार्किङ हुनेछन् । सोही विमानस्थलबाट पहिलो उडान गर्ने प्रवक्ता सिटौलाले बताए । साथै अल्टिच्युड, हेलि एभरेस्ट, मनाङ एयर, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार बेस बाँडफाँड भएको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकेको बताएको छ  । 

क्यानले असार ७ गतेबाट नै हेलिकप्टर कम्पनीहरूलाई काठमाडौंबाहिर रात्री पार्किङका लागि निर्देशन दिएको थियो । क्यानले १० वटा हेलिकप्टरको अपरेटिङ बेस काठमाडौंस्थित विमानस्थलमा तोकेको थियो । तर हेलिकप्टर कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको संख्या थप्न माग गरेका थिए । 

गत साता मात्रै वायु सेवा संचालक संघले अपरेटिङ बेसको प्रस्ताव प्राधिकरण र त्रिभुवन विमानस्थललाई बुझाएको प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनले थपे, संघले बुझाएको प्रस्तावअनुसार हेलिकप्टर कम्पनीहरूको अपरेटिङ बेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वीकृत गरेको छ ।

Advertisement

Advertisement