काठमाडौं । एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पुँजीको १५ प्रतिशत साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको पनि चयन गरेको छ ।
कम्पनीको अधिकृत पुँजी ३० करोड रुपियाँ र जारी पुँजी २६ करोड रुपियाँ छ । त्यसमध्ये संस्थापक शेयरधनीले २२ करोड १० लाख रुपियाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपियाँ पुग्नेछ ।
साधारणसभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्वाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना र अर्का १ स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरे ।
एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।