विपीकी नातिनी राप्रपालाई भोट माग्न मैदानमा, कांग्रेस कम्युनिष्टले तीन दशक खेर फालेः लिङ्देन

Advertisement

कास्की । नेपाली कांग्रेसका नेता कार्यकर्ताले आदर्श मान्ने नेता विपी कोइरालाकी नातिनी मनिषा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भोट माग्न मैदानमा उत्रिएकी छन् । 

उनले शुक्रबार कास्कीमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपालाई जिताउन आव्हान गरिन् । बलिउड फिल्म उद्योगमा कुनै समय निकै चर्चामा रहेकी मनिषा विपी कोइरालाको विचार कांग्रेसले परित्याग गरेर कम्युनिष्टहरुको एजेण्डाको पछि लागेपछि रुष्ट भएकी छन् । 

Advertisement

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको चर्चा चुनावमा मात्रै गर्ने गरिएको र सुकुम्बासीका नाममा जनतालाई कांग्रेस कम्युनिष्टले झुक्याउने काम गरेको भन्दै तीन दशक लामो समय उनीहरुले खेर फालेको बताए । उनले सुकुम्बासी समस्या र नागरिकता विधेयक सत्तामा रहँदै आएका दलहरुको चुनावी एजेन्डा मात्रै भएको बताए । ‘पटकपटक मौका पाउँदा कसैले पनि एउटा सम्झनयोग्य काम गरेनन् । जुन नेता बोकेका छौं, तिनैको गलत कामले ऐंठन हुन्छ’ उनले थपे । 

लिङदेनले भने, ‘सुकुम्बासी समस्या र नागरिकता विधेयक चुनावी एजेन्डामात्रै भयो । पुसमा धनीपुर्जा दिन्छु भन्दै कांग्रेसका पनि दिन आए । बहुदलीय व्यवस्था आएपछि कांग्रेस सरकारमा छ । तर, समस्या समाधान किन हुँदैन ? अड्डामा बसेर होइन, सुकुम्बासी गाउँमै गएर स्थायीरूपमा समाधान गर्नुपर्छ । मौका पाए राप्रपाले एकैपटक समस्या समाधान गर्छ ।’

पुराना नेताले गर्दै आएको गलत कामले ऐंठन हुने उनले बताए । लिङदेनले कांग्रेसले फेरि चुनाव जित्यो भने, अरू पार्टी जोडेर सरकार गठन भयो भने पुनः शेरबहादुर देउवा नै छैठौं पटक प्रधानमन्त्री हुने बताउँदै सो पार्टीमा प्रधानमन्त्री हुने अर्को व्यक्ति नरहेको बताए । 

देश बचाउने एजेन्डा राप्रपाले ल्याएको भन्दै लिङदेनले देशको हित चाहनेले हलोमा भोट हाल्नुपर्ने बताए । उनले भने, ‘मेरा बाआमाको, हजुरबाको पालादेखिको पार्टीको हो, त्योभन्दा अन्यत्र भोट हाल्न हात जाँदैन भन्नुहुन्छ यस्तै सोचले निकास दिँदैन । अहिले देश बचाउने एजेन्डा राप्रपाले ल्याएको छ । हलो चिह्न सबैको साझा हो ।’ 

आफ्नो पार्टी नछाडे पनि भोट राप्रपालाई दिन आव्हान गर्दै उनले कांग्रेस‚ कम्युनिस्टमा रहेका राम्रो सोच भएका नेता कार्यकर्ताका लागि विकल्प हलो भएको बताए । लिङदेनले भने, ‘मेरो भूमिका ठिक लाग्छ भने यसपटक मलाई साथी दिएर पठाउनुस् संसद्‌मा । म एक्लै भएँ । हामी भ्रष्ट भएर धोका दिने छैनौँ ।’

Advertisement

Advertisement