व्यवसायी एवं कांग्रेस नेता खड्का भन्छन्– स्काउटका भण्डारीले पटक–पटक मेरो चरित्र हत्या गरे

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका संखुवासभाबाट नवनिर्वाचित सांसद दीपक खड्काले नेपाल स्काउटले पटक–पटक आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएका छन् । 

आईतवार पत्रकार सम्मेलन गर्दै उनले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग आफ्नो कुनै सम्बन्ध नहुँदा समेत नेपाल स्काउटका तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारीबाट पटक–पटक चरित्रहत्या गरिको गुनासो गरे । खड्का व्यवसायीसमेत हुन् । 

Advertisement

उनले कानूनी उपचारको लागि अदालतमा मानहानीको मुद्दा हाल्ने पनि बताए । नेपाल स्काउटले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग स्काउटको जग्गा भाडामा सम्झौता सकिँदा समेत सांसद दीपक खड्काले प्रहरी लगाएर हस्तक्षप गरेको बताउँदै आएको छ । 

उनले खड्का ल्याण्ड डेभलपमेन्टले कानूनी रुपमा वैधानिक तरिकाले सम्झौता भए बमोजिम भाडा बापतको रकम दिएर व्यवसाय सञ्चालन गरिरहेको बताए । खड्काले स्काउटका अध्यक्ष भण्डारीले संस्थालाई आँच आउने र आफ्नो चरित्रहत्या गर्ने काम गरेको भन्दै नेपाल स्काउट तदर्थ समितिका अध्यक्ष भण्डारीले पूर्वप्रधानमन्त्रीको नजिकको, राष्ट्रिपतको नातेदार हुँ भन्दै मान्छे तर्साउने, धम्काउने गरेको बताए । 

भण्डारी नेपाल स्काउटका मान्छे नभएर विचौलिया भएको उनको आरोप छ । उनले भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ती गर्ने, गैरकानूनी कामहरु गर्ने र स्काउटको करोडौं रकम हिनामिना गरेकाले आफूहरुले उनीबिरुद्ध छानविनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएको बताए । 

भण्डारीले स्काउटको सम्पत्तिको कसरी सदुपयोग तथा दुरुपयोग भए, नभएको मतलव नगरी आर्थिक लाभ लिनेगरी केही व्यापारीहरुसँग मिलेर स्काउटलाई कब्जा गर्न खोजेको आरोप खड्काले लगाए । उनले राजनीतिक जीवन सिध्याउनको लागि संखुवासभा निर्वाचन क्षेत्रमा पुगेर भण्डारीले खर्चसमेत  गरेको गुनासो गरे । 

नेता खड्काले स्काउट जस्ता संस्था जोगाउँदै संरक्षण गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताए । उनले स्काउटले खड्का ल्याण्ड डेभलपमेन्ट र आफ्नो अपमान भएको भन्दै अपमानजनक कार्य रोक्न सरकारसँग माग गरे । 

खड्का ल्याण्ड डेभलपमेन्टका सञ्चालक सेवक पोखरेलले नेपाल स्काउटले लगाएका आरोपहरु सबै झुटो रहेको दावी गरे । उनले संस्थाले स्काउट जस्तो सामाजिक संस्थाप्रति उत्तरदायी भएर सम्झौता अनुसार भुक्तानी समेत नियमित रुपमा तिर्दै आएको बताए । पोखरेलले स्काउटको वर्तमान समिति आए पश्चात सम्झौता अनुसार काम गर्न नदिई पटक–पटक पूर्वसञ्चालक र संस्थाप्रति षड्यन्त्र गरिरहेको बताए ।

Advertisement

Advertisement