प्रधानमन्त्रीबाहेक अरु सबै पदमा भागबण्डा हुनुपर्छः नभएर स्थिरता हुन्नः रिमाल

Advertisement

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले प्रधानमन्त्रीबाहेक बाँकी अन्य नियुक्तिहरुमा भागबण्डाको कुरा उठाएका हुन् । 

प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताउँदै रिमालले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली काँग्रेसले सोच्नुपर्ने बताए । 

Advertisement

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षलगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढे मात्रै राजनीतिमा स्थिरता कायम हुने नत्र नहुने बताए । समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि रिमालले बताए । 

उनले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए । रिमालले भने, ‘राज्य सत्ता सञ्चालनमा समझदारी हुनुुपर्दछ । प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसावले तय हुन्छ । प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ । राष्ट्रपति भन्नुस्, उपराष्ट्रपति भन्नुस् । सभामुख, उपसभामुख भन्नुस् । राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष भन्नुस् ।  यी सबै चिजहरु साझा भूमिका निर्वाह गर्ने महत्वपूर्ण अंगहरु हुन् । त्यसपछि संवैधानिक निकायका धेरै कुराहरु पनि आउँछन् । यी सबै कुराहरुमा कसरी समझदारीमा अघि बढ्ने ? भन्ने कुरा चाहीँ गठबन्धनमा रहेका नेता, नेपाली काँग्रेसले सोच्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सोचिएन भने अंक गणितले निर्धारण गर्नेकुरा हो । गरिहाल्छ । त्यसमा हामीले धेरै टिप्पणी गर्न सक्दैनौं । तर त्यसले ल्याउने असमझदारीले चाहिं मुलुकमा अस्थिरता आउँछ ।’

एमालेका ३६ जना उम्मेदवारहरु निर्वाचनमा हराउने अभियान चलाइएको सुनाउँदै उनले एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भने पनि ६ प्रतिशत भोट घटेको स्वीकार गरे । रिमालले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनै पनि राजनीतिक कल्पना नै नगरेको बताए । 

नेता रिमालले अहिलेको सत्तारुढ गठबन्धन जनताहरुबाट अस्वीकृत भएको कुरा निर्वाचन परिणामले देखाइसकेको जिकिर गर्दै नयाँ सरकारका लागि काँग्रेस गठबन्धनमा रहेका कारण सहजै बहुमत बनाउने स्थितिमा रहेको बताए । एमालले तत्काल नयाँ सरकारका लागि पहल गर्छ भनेर सोच्न नहुने उनले बताए । 

Advertisement

Advertisement