चल्ला कोरल्ने मेशिन विकास गरेका चौधरी भन्छन्– अब सुकुटी बनाउने मेसिन बनाउँछु

Advertisement

काठमाडौं । उदयपुरका अशोक चौधरी र उनकी श्रीमती सुश्मा रानाको जोडीले विगत तीन बर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री गर्दै आएका छन् । चौधरीले यो मेशिन आफै आविश्कार गरेका हुन् । 

उनले किर्तिपुरमा जग्गा भाडामा लिएर अबिराम इन्कुबेट एण्ड मेसिन कम्पनी स्थापना गरी आधुनिक खालका चल्ला कोरल्ने मेशिन आविस्कार तथा बिक्री वितरण गर्दै आएका चौधरीले आफ्नो मेशिन देशभर बिक्री हुँदै आएको बताउँछन् । 

Advertisement

चौधरी एक प्राविधिक हुन । भूगर्भशास्त्रमा इन्जिनियरिङ अध्ययन गरेका उनले विदेश जानुभन्दा स्वदेशमै केही गर्छु भन्ने व्यवसाय रोजेका बताए । श्रीमती सुश्मा कम्पनीको प्रबन्धक निर्देशक हुन् । दुवै मिलेर 
पाँच सय रुपियाँ लागानीबाट सुरु गरेको व्यवसायबाट अहिले मासिक ५० हजारसम्म आम्दानी हुने गरेको छ । 

चौधरीले बनाएका मेसिन चार हजारदेखि ३० हजार सम्ममा बिक्री हुन्छ । चार हजारको सानो मेसिनमा एक पटकमा सय वटासम्म अण्डाबाट चल्ला कोरल्छ भने ठूलो मेसिनमा २४० वटासम्म अण्डाबाट चल्ला कोरल्न सकिन्छ । आफूले बनाएको मेसिनले २२ दिनमा चल्ला कोरल्ने गरेको उनले बताए ।

यो मेसिन सामान्य किसानले सरल तरिकाबाट प्रयोग गर्नसक्ने बताउँदै चौधरीले उपभोक्ताको माग अनुसारको मेसिन बनाएर बिक्री गरेकाले आफ्नो प्रयासले सफलता पाएको बताए । चौधरीले आफूले आविस्कार गरेका चल्ला कोरल्ने मेसिन वातावरणमैत्री, सहजै चलाउन सकिने र कम लागतको रहेको बताउँदै कुखुरा पालक किसानको घरदैलोमा पुराउने गरेको बताए । 

परम्परागत तरिकाले चल्ला उत्पादन गर्दा ओथारो बसेको पोथीलाई विशेष हेरबिचार चाहिने, पोथीमा सुलसुले लाग्ने, सबै अण्डालाई बराबार स्याहार नहुने जस्ता समस्याका कारण बढी नोक्सानको जोखिम हुन्छ भन्दै उनले सामान्य आयस्रोत भएका किसानले समेत आफ्नो लागि आफै चल्ला उत्पादन गर्न आफूले बनाएको मेसिन उपयोगी हुने बताए । 

यसबाट थोरै कुखुरा पाल्ने किसानलाई चल्लाका लागि धेरै कुखुरा पाल्नेहरुको भर पर्नुपर्ने बाध्यता नहुने चौधरीको तर्क छ । उनले थपे, ‘यसले गर्दा स्वास्थ चल्ला उत्पादन हुन्छ । चल्लामा ठगीने संभावना पनि हुँदैन् । खर्च र जोखिम पनि कम हुन्छ । अर्को कुरा स्वदेशी मेसिनले आयातित मेसिन र आयातित चल्लालाई पनि विस्थापित गरेर देशको रुपियाँ बाहिर जानबाट केही हदसम्म रोकेको छ ।’

चौधरीले सुकुटी तयार गर्न नयाँ प्राविधिको मेशिन विकास गर्ने आफ्नो योजना रहेको पनि सुनाए । उक्त मेसिनबाट खेर जाने तरकारी, फलफूल र मासुजन्य उत्पादनलाई सुकाएर पछि प्रयोगमा ल्याउन सकिने उनको भनाई छ । 

Advertisement

Advertisement