राष्ट्र बैंकको बैंक वित्तीय संस्थामैत्री समीक्षा, लगानी बढाउन सहयोग पुग्ने आशा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप राहत मिल्ने र लगानी पनि बढाउन मिल्नेगरी मौद्रिक नीतिको समीक्षा गरेको छ । शुक्रबार गरिएको समीक्षामा बैंक वित्तीय संंसथालाई नै बढी राहत मिल्ने देखिन्छ । साथै, ऋण लगानीलाई पनि केही खुकुलो बनाउने प्रयास गरिएको छ । 

यसमा घरजग्गादेखि सवारी साधन खरीदसम्ममा बैंकले गर्ने लगानीमा खुकुलो नीति लिएको हो । घरजग्गा खरीदका लागि प्रवाह हुने ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाणपत्र पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिएको छ भने सवारी साधन कर्जा (हायर पर्चेज)मा जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारिएको छ । 

Advertisement

आर्थिक मन्दीका कारण मानिसहरु सवारी साधन खरीददेखि घरजग्गा खरीदमा समेत उदासिन हुँदै गएकोमा आजको समीक्षाले थोरै भए पनि लगानी बढ्नसक्ने देखिन्छ । 

त्यस्तै, राष्ट्र बैंकले असल कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट १.२० प्रतिशत कायम गरिएको छ । बैंकहरुको खराब कर्जाको आधार बढ्दै गएकाले राष्ट्र बैंकले यसमा थप लचकता अपनाएको हो । 

बैंक तथा वित्तीय संस्थाको पुँजीकोष थप सुदृढ बनाउन भन्दै अतिरिक्त उपकरणहरु ल्याउन थप सहजीकरण गर्ने भन्दै राष्ट्र बैंकले यसबाट बैंकहरुमाथि लगानीका लागि परेको दबाब कम गर्न सहयोग पुग्ने विश्वास लिएको छ । 

त्यसैगरी, विद्यमान नगद अनुपात, वैधानिक तरलता अनुपात, नीतिगत दर, ब्याजदर करिडोरअन्तर्गतको निक्षेप संकलन दरमा यसअघिको सुविधालाई कायम राख्ने, एक बर्ष व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक बर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा पुनरावलोकन गरिने जस्ता कुरा आज आजको समीक्षामा उल्लेख छ । 
 

Advertisement

Advertisement