एक कर्मठ तरकारी व्यापारी भन्छन्– हामो बजारमा भारतीय व्यापारीको रजाईं देख्दा दुःख लाग्छ

Advertisement

काठमाडौं । गरे के हुँदैन र ? इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाईलाई चरितार्थ गरेका छन् सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैं मालिक छन् । 

इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनले तेस्रो वर्षमा खेती गरिरहेका छन्, जसले उनलाई करोडपति बनाइसकेको छ । मौसमी खेती गर्दै आएका मियाले यतिबेला खेतमा काँक्रो र भान्टा फलाइरहेका छन् । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई छ । मियाले मासिक २० हजारसम्म तलव दिएर २० जना कामदारलाई रोजगारी समेत दिएका छन् । 

Advertisement

आफ्नो खेती र किसानी पेशामा दङ्ग उनी उब्जाउलाई बिस्तार गर्ने सोचमा छन् । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने मिया वार्षिक एक करोड रुपियाँ हाराहारीको आम्दानी गर्ने गरेको बताउँछन्, जसबाट घरखेत जोड्दै गएको उनले बताए । 

मिया भन्छन् ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने ! आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच । परिवार,पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ । तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ । कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु ।’ 

उनले उत्पादन गरेको तरकारी अधिकांश पूर्वका ठूला बजारमा पुग्छ । तर पनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण मिया खुशी छैनन् । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मर्कामा पर्ने गरेको उनको दुखेसो छ । मियाले सरकारसँग साना किसानहरुलाई पनि हेरिदिओस् भन्ने अपेक्षा राख्छन् । 
 

Advertisement

Advertisement