तीस करोड लगानीमा ५५ जना किसानद्धारा माछाको दाना उद्योग सफलतापूर्वक सञ्चालन

Advertisement

काठमाडौं । चितवनको रत्ननगरस्थित पिठुवामा किसानहरुको ५५ जनाको समूहले सफलतापूर्वक माछाको दाना उद्योग सञ्चालन गरेर उदाहरण पेश गरेका छन् ।

उनीहरुको ३० करोड लगानी रहेको ‘चितवन सामुदायिक माछा दाना उद्योग प्रा.लि.ले विगत दुई बर्षदेखि दाना उत्पादन गरी बिक्री गर्दै आएको छ । कम्पनीका लगानीकर्तामध्येका एक सुजन थापाले आफूहरुले पशु चिकित्सकहरुको सुझाव र परीक्षण गरी स्वस्थ र गुणस्तरीय माछाको दाना उत्पादन गरी बिक्री गर्दै आएको बताए । 

Advertisement

उनले भने, ‘पशु डाक्टरहरुको सुझावअनुसार र परीक्षण गरेर स्वस्थ दाना उत्पादन गरेर बिक्री गर्दै आएको छौं । हामीले उत्पादन गरेको गुणस्तीय भएकाले माछालाई कुनै प्रकारको असर गर्दैन् ।’ उद्योगबाट बार्षिक तीन करोड रुपियाँको व्यापार गर्न सफल भएको बताउँदै थापाले यसलाई अझै विस्तार गर्दै लैजाने बताए । 

उद्योग स्थापना गर्न पूर्वाधार तयार गर्ने क्रममा ठूलो लगानी र खर्च भएकाले आफूहरुले नाफा भने गर्न नसकेको बताउँदै उनले चाँडै कम्पनीलाई नाफामा लगेर लगानीकर्तालाई प्रतिफल दिने लक्ष्य लिएको बताए । 

चितवन सामुदायिक माछा दाना उद्योगबाट  पानीमा तैरने, डुब्ने र धुलो गरी तीन प्रकारका दाना उत्पादन गर्दै आएको छ । चितवनलगायत रुपन्देही, दाङ, बर्दिया, बारा, पर्सा, महोतरी जस्ता थुप्रै जिल्लाका माछा पालक कृषकले यही उद्योगको दाना प्रयोग गर्दै आएका छन् । 

उद्योगबाट प्रतिदिन एक टन दाना उत्पादन हुने गरेको थापाले बताए । दानामा भिटामिन, हर्बल, खनिज प्रचुर मात्रामा पाइने बताउँदै उनले दानामा मकै, ढुटो, भुटेको तोरीको पिना, गहुँ जस्ता कच्चा पदार्थ प्रयोग हुने जानकारी दिए । यस्ता कच्चा पदार्थमध्ये अधिकांश स्वदेशमै उत्पादित प्रयोग हुने र केही इण्डियाबाट आयात हुने थापाले सुनाए ।  

दानाको गुणस्तरअनुसार मूल्यमा फरक पर्ने थापाले बताए । उनले एक किलो दानाको ५० रुपियाँदेखि ९५ रुपियाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए । माछाले मंसिर, पुस, माघमा दाना कम खाने भएकाले खपत पनि कम हुने थापाले बताए । आर्थिक मन्दीका कारण पछिल्लो समय दाना उत्पादनभन्दा बिक्रीमा समस्या हुने गरेको उनले बताए । थापाले किसानहरुलाई व्यवसायिक खेतीका लागि सीप र तालिमको अभाव रहेको पनि अनुभव सुनाए । 

Advertisement