काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुननसक्ने तर्क गरेकी छन् । बिहीवार राष्ट्रिय समाचार समितिमा आयोजित फोटो प्रदर्शनीमा उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको जिकिर गरिन् ।
गणतन्त्रको विकल्पमा पुनः पछाडी फर्कन नसकिने भन्दै शर्माले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने गरेको गरेको बताइन् । भ्रष्टाचारका समस्याहरुको समाधान पनि गणतन्त्र भित्रै सम्भव रहेको उनको दावी छ ।
मन्त्री शर्माले भनिन्, ‘यदी गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौ होला । त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो । गणतन्त्रको विकल्प फेरि पश्चगमन हुन सक्दैन ।’
उनले थपिन्, ‘अहिले आउँदाखेरी यस्तो भयो, यत्रा भ्रष्टाचारका कुराहरु आए, दुनियाँभरी भएका छन् । यो भन्दा त हिजोकै राजतन्त्र ठिक नि भन्ने खालका प्रश्न पनि तपाईं हाम्रा बीचमा उठ्ने गरेका छन् । मान्छेहरुले उठाउने गरेका छन् । तर विषय त्यस्तो होइन । के हो भने, यसको विकल्प, समाधान त्यो होइन ।’
शर्माले सरकार सञ्चालनमा भएका त्रुटीहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन् । व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने उनको भनाई छ । शर्माले राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताइन् ।