काठमाडौं । नेपाल एसबिआई बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५/०७६ को नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको हो ।
बैंकको २०७६ मंसिर २९ गते सम्पन्न २६औं वार्षिक साधारणसभाले आव २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
बैंकका अनुसार शेयरधनीको अद्यावधिक खातामा लाभांश जम्मा गरिसकिएको छ । तर डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएका तथा अन्य कारणले भुक्तानी लिन बाँकी रहेकाले आफ्नो लाभांश लैजान बैंकले आग्रह गरेको छ ।
लाभांश लिन बाँकी शेयरधनीले एक महिनाभित्र बैंकको रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।
तोकिएको अवधिभित्र लाभांश दाबी गर्न नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ ।