राहतमा भूराजनीतिक प्रभावः चीनले राहत सामग्री पोखरामा झार्यो, बुझ्न गृहमन्त्री पुगे

Advertisement

काठमाडौं । पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितका लागि छिमेकी चीनले पठाइदिएको राहत सामग्री पोखरा आइपुगेको छ । राहत सामग्री बोकेका दुई वटा जहाज बुधबार बिहान पोखरा विमानस्थलमा अवतरण गरेको हो । 

जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि इण्डियापछि चीनले पनि राहत सामग्री पठाएको हो । यसअघि इण्डियाले पठाएको राहत सामग्रीको जहाज नेपालगञ्जमा अवतरण गरेको थियो । इण्डियाको राहत सामग्री बुझ्न रक्षामन्त्री पूर्णबहादुर खड्का पुगेका थिए भने चीनले पठाइदिएको राहत सामग्री बुझ्न आज बिहानै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा पुगेका थिए । 

Advertisement

चिनियाँ जनमुक्ति सेनाका दुई वटा जहाज एक लाख ७९ हजार किलो राहत सामग्री लिएर चीनकै ऋण तथा अनुदान र ठेक्कामा निर्माण भएको पोखरा विमानस्थलमा अवतरण गरेका हुन् । जहाजमा छ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री रहेको जनाइएको छ । यी सामग्री नेपाली सेनाको जहाजबाट भूकम्प प्रभावित क्षेत्रमा पु्र्याइने छ । गृह मन्त्रालयले चीनले पठाउने थप राहत सामग्री केरुङ नाका हुँदै स्थलमार्गबाट आइसकेको छ । दुई दर्जनभन्दा बढी ट्रकमा आएका यी सामग्री काठमाडौं आइपुगेको र जाजरकोट र रुकुम पठाउने तयारी भइरहेको छ ।  

इण्डियाको राहत सामग्री नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले खड्कालाई बुझाएका थिए भने चिनियाँ राहत सामग्री चिनियाँ राजदूत छन् सोङले श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । नेपालमा छिमेकीहरुको भूराजनीतिक प्रभाव यस्ता राहत सामग्री उपलब्ध गराउने कुरामा समेत देखिने गरेको छ । 

Advertisement

Advertisement