हिमालय एअरलाइन्सको काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु

Advertisement

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज (शनिबार)बाट काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरु गरेको छ । 

यो सेवा बिस्तारले नेपाल र चीनबीचको कनेक्टिभिटि बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्घन गर्ने कम्पनीको आशा छ । यस सांघाई रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको सबैभन्दा विशाल एवम् विश्वकै प्रमुख व्यापारिक केन्द«का रूपमा परिचित शहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने हिमालय एयरलाइन्सको भनाई छ । 

Advertisement

एयरलाइन्सको पहिलो आउटबाउन्ड उडान एचनाइन ७८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा प्रस्थान गरेको थियो भने सांघाइकोे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ४ः३१ बजे अवतरण गर्नेछ । 

यस उडानको अवधि ४ घण्टा ७ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३८ रहेको कम्पनीले जनाएको छ । अहिलेलाई हरेक शनिबार उडान सञ्चालन गर्ने योजना रहे पनि यही आउँदो डिसेम्बर २० बाट हप्तामा दुई दिन बुधबार र शनिबार उडान सञ्चालन गरिने जनाइएको छ । 

यससँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो तेस्रो सिधा उडान हो ।  एअरलाइन्स्ले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । साँघाई उडान उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सी यु सहभागी थिए । सो अवसरमा हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठ पनि सहभागी थिए । 

हिमालय एयरलाइन्सले कोरोना महामारीअघि चीनका पाँच वटा गन्तव्यमा उडान भरेको थियो । निकट भविष्यमा चीनका विभिन्न गन्तव्यमा उडान संख्या बढाउने योजनामा हिमालय एयरलाइन्स रहेको छ । कोरोना महामारीअघि विश्वभर १६ करोड पर्यटक बाहिर पठाएको चीनले यो महामारीपछि पनि विश्वका विभिन्न भागहरूमा थप पर्यटक पठाउने प्रयास गरिरहेको बताउँदै हिमालय एयरलाइन्सले जसमध्ये नेपाल पनि प्रमुख गन्तव्यको रूपमा रहेको बताएको छ । 

हिमालय एअरलाइन्स्ले यसै महिनामा चीनका चोङकिङ र ल्हासामा पनि आफ्नो उडान सेवा बिस्तारका लागि तयारी अवस्थामा रहेको छ । सांघाई रुटको सुरुवातसँगै उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको हिमालय एयरलाइन्सको भनाई छ । सन् २०१४ देखि सञ्चालनमा रहेको यो एयरलाइन्समा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि.को लगानी छ । 

Advertisement

Advertisement