नेपाल माउन्टेन लिडर एसोसिएशनले पायो अन्तर्राष्ट्रिय मान्यता

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय माउन्टेन लिडर महासंघले नेपाल माउन्टेन लिडर एसोसिएशनलाई पूर्णकालीन सदस्यता दिएको छ । यो सदस्यतासँगै नेपालले अन्तर्राष्ट्रिय मान्याता प्राप्त गरेको छ । 

यही नोभेम्बर २ तारिखका दिन म्यासेडोनियामा सम्पन्न अन्तर्राष्ट्रिय माउन्टेन लिडर महासंघको वार्षिक साधारहण सभाले नेपालको प्रतिनिधित्वको रुपमा नेपाल माउन्टेन लिडर एसोसिएसनलाई पूर्णकालीन सदस्यता दिएको अध्यक्ष दावा टशी शेर्पाले बताए । 

Advertisement

नेपालमा माउन्टेन लिडर नेपाल पर्वतारोहण संघको मातहतमा सन् २०११ बाट सुरु भएको हो । नेपालको पर्वतीय पर्यटनलाई दिगो रुपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको श्रमशक्तिको उत्पादन अपरिहार्य थियो, जसमा अन्तर्राष्ट्रिय माउन्टेन लिडर पनि एक हो । नेपाली पर्यटन बजारको भविष्यलाई मध्येनजर गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन लिडर तालिम सञ्चालन र स्तर निर्धारण मुख्य आवश्यकता र चुनौति थियो । उक्त आवश्यकतालाई पूरा गर्न नेपालका माउन्टेन लिडरहरुको एक संस्था चाहिने अन्तर्राष्ट्रिय प्रावधान रहेको शेर्पाले बताए । 

उनले भने, ‘सोही व्यवस्था वमोजिम सन् २०१६ मा नेपाल माउन्टेन लिडर एसोसिएसनको स्थापना गरिएको थियो । सन् २०१७ मा ब्रिटिस माउन्टेन लिडर एसोसिएसनको प्रस्तावमा अन्तर्राष्ट्रिय माउन्टेन लिडर महासंघको उम्मेद्वार सदस्य पाएको नेपाल माउन्टेन लिडर एसोसिएसनले सन् २०२० मा अन्तर्राष्ट्रिय माउन्टेन लिडर महासंघको आस्पिरेन्ट सदस्यता प्राप्त गरेको थियो ।’

महासंघको आस्पिरेन्ट सदस्यता प्राप्त गरे पश्चात वर्षे र हिउँदे सीप परीक्षण गर्नु पर्ने महासंघको प्रावधान छ । सन् २०२३ को वर्षामा वर्षे सीप र सन् २०२४ को फेब्रुअरीमा हिउँदे सीप परीक्षणको प्रतिवेदन अनुसार २०२४ नोभेम्वर २ तारिकमा म्यासाडोनियामा सम्पन्न अन्तर्राष्ट्रिय माउन्टेन लिडर महासंघ वार्षिक साधारण सभाले नेपालको प्रतिनिधित्वको रुपमा नेपाल माउन्टेन लिडर एसोसिएसनलाई पूर्णकालीन सदस्यता दिएको उनले जानकारी दिए । 

नेपाल माउन्टेन लिडर एसोसिएसनका अध्यक्ष शेर्पाका अनुसार माउन्टेन लिडर भनेको पदयात्रामा सिंगो समूहको नेतृत्व गर्ने अन्तर्राष्ट्रिय स्तरको तालिम प्राप्त व्यक्ति हो । यस्तो तालिम फरक फरक चरणमा हुने अन्तर्राष्ट्रिय प्रावधान छ । यहि प्रक्रियालाई आधार मानेर नेपालमा पनि नेपाल पर्वतारोहण संघको मातहतमा यो तालिम हुँदै आएको छ । यसरी विभिन्न चरणको तालिम सकेपछि अन्तर्राष्ट्रिय माउन्टेन लिडरको तालिममा सहभगी हुन पाइने व्यवस्था छ । नेपालले पनि अब अन्तर्राष्ट्रिय स्तरको तालिम नेपालमै सञ्चालन गर्नेछ ।

undefinedundefined

 

Advertisement

Advertisement