खराब कर्जा ५ प्रतिशतभित्र राख्न उपाय अपनाइएन भने समग्र बैंकिङ सिस्टम समस्यामा पर्छः कोइराला

Advertisement

काठमाडौं । नेपाल बैंकर्स एशोसियनका उपाध्यक्षसमेत रहेका माछापुछ्रै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले खराब कर्जा (एनपीएल)को सीमा ५ प्रतिशतभित्र राख्न सकिएन भने समग्र बैंकिङ सिस्टम समस्यामा पर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले खराब कर्जा ५ प्रतिशतभन्दा माथि लगेर राष्ट्र बैंकले के पाउँछ र ? भन्दै त्यस्तो हुन नदिने उपायको खोजी गर्नुपर्ने बताए । कोइरालाले भने, ‘कि त पाँच प्रतिशतको सीमालाई १० प्रतिशत बनाउनुपर्यो । कि खराब कर्जाको गणना विधिलाई पुर्नसंरचना गर्नुपर्छ । मोनेटरी पोलिसिको समीक्षामा पनि यो कुरा आएको छ । सर्कुलर आउँदा कसरी आउँछ ? हेरौ ।’ 

Advertisement

उनले अहिलेको विषम अवस्थामा ५ प्रतिशतको नियामकीय सीमा कायम राख्ने हो भने समग्र क्षेत्र ठप्प हुने अवस्था आउने, निक्षेप कसैले दिननसक्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रश्न उठाउने अवस्था आउने बताए । अहिले कृषि विकास बैंकको खराब कर्जा ५ प्रतिशतको सीमा नाघिसकेको छ भने अरु थुप्रै बैंकको पनि पाँच प्रतिशत नजिक पुग्न लागेको छ । अहिले नेपाल एसबिआई बैंक, माछापुछ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया र प्रभु बैंकको मात्रै ३ प्रतिशतभन्दा कम खराब कर्जा रहेको छ । 

सीईओ कोइरालाले अहिलेको मौद्रिक नीतिको समीक्षाले केही भाइब्रेसन हुन्छ कि ? भनेर बैंकिङ क्षेत्रले आशा लिएको बताउँदै अब राष्ट्र बैंकको सर्कुलर कसरी आउँछ ? त्यसले धेरै कुरा निर्धारण हुने बताए । उनले कर्जा अशुलीको कुरामा पुस १५ सम्मलाई बैंकिङ क्षेत्रले ‘वेट एण्ड सी’मा रहेको बताए । मौद्रिक नीतिको समीक्षामा पनि कर्जा अशुलीमा लचकता अपनाउने कुरा गरेकाले अब कठिनाई नहुने कोइरालाको आशा छ । उनले मौद्रिक नीति राम्रो भए पनि आर्थिक नीति राम्रो हुन नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए । 

Advertisement

Advertisement