नेपालमा बर्षेनी ५० खर्ब रेमिटान्स आउनुपर्नेमा १२ खर्ब मात्रै आउँछ, ३८ खर्ब कहाँ हराउँछ ?

Advertisement

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । 

आईतवार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आर्थिक वर्ष २०७७–७८ को तुलनामा २०७८–७९ मा २७७ प्रतिशत र २०७९–८० मा तीन सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ । 

Advertisement

आव २०७७–७८ मा ४२.२४ प्रतिशत र आ.व. २०७८–७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९–८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको सो संस्थाका पदाधिकारीको भनाई छ । आव २०७७–७८ को तुलनामा (१ लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको नौ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आव २०७९–८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ । 

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भई बार्षिक कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए । उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताए । 

शर्माले भने, ‘श्रमिकहरु अझै पनि विदेशिने क्रम बढ्दो छ । त्यो भित्र स्किल लेभरहरुको संख्या बढ्दो छ । यो नयाँ ट्रेन हो । असुरक्षित क्षेत्रमा श्रमिकहरु प्रवेश गर्दै गरेको युद्धमा सहभागी भएका जस्ता डरलाग्दा तथ्यांकहरु पनि छन् । असुरक्षित ढंगले श्रमिकहरु विदेशिँदै जाँदा यदी युद्ध भयो भने नेपाली श्रमीकहरु युद्धमा पनि सहभागी हुने हुन् की भन्ने संकेत देखिन्छ । श्रमिकहरुको संख्या विदेशिने क्रम बढेको छ । सिप भएका श्रमीकहरु विदेशिएका छन् । जुन प्रतिशतमा विदेशमा श्रमिकहरुको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढीरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौँ ।’

Advertisement

Advertisement