पदम भण्डारी
अहिले पत्रपत्रिका, सामाजिक सञ्जाल, चोक चौतारी जताततै देशको दक्ष जनशक्ति कसरी र किन विदेश पलायन हुन्छ ? पढेको जनशक्ति विदेश पलायन भयो । विदेश पलायन रोकौं । विदेश पलायन हुने दक्ष जनशक्ति रोक्नुपर्छ । विदेश पलायन र यसले निम्त्याएको निराशा, शिक्षा नीति सुधारौं आदि जस्ता सामाचारहरुले स्थान ओगटेको देखिन्छ र सुनिन्छ । यस्ता नकारात्मक सन्देश दिने खालका समाचारहरु जो व्यावसायमा छैनन्, जो उद्यमशील छैनन्, जसले केही गर्ने हिम्मत गर्दैनन्, त्यस्ता व्यक्तिहरुले फैलाईरहेका हुन्छन् ।
यो पंक्तिकारको आशय यहाँ कुनै समस्याहरु छैनन् भन्ने खोजेको चाहिँ होइन् । युवा पलायनलाई हटाउने उपायबारे छलफल गर्नुअघि यसका कारणहरु बुझ्नुपर्छ । व्यापकरुपमा फैलिएको युवा पलायनका थुप्रै कारणहरु छन् ।
नेपालको सामाजिक एवं शिक्षा प्रणाली यस्तो छ कि स्कुलदेखि कलेजसम्म घरमा बालबालिकालाई ठूलो भएपछि केही उद्यम गर्छु भनेर सिकाईंदैन । बालबालिकाहरुलाई कक्षामा फेल भयो भने हली बन्छस् भनेर कृषि कर्म गर्नलाई निरुत्साहित गरिन्छ । कृषि कर्म भनेको स्कुलमा फेल भएपछि वा केही गर्ने नसकेपछि मात्र संग्लग्न हुने पेशा हो भनेर बुझाईन्छ । यहाँको शिक्षा खासगरि स्कुल पछिको लामो, महङ्गो र सैद्धान्तिक छ । यस प्रकारको शिक्षा प्रणाली र संस्कारका कारण युवाले जागिर नपाउँदा निराश हुन्छन् र आँफूलाई बेरोजगार ठान्न थाल्छन् । त्यसैले विदेशमा पढ्दै कमाउन सकिन्छ भन्ने ‘पुल फ्याक्टर’ले समेत काम गरेको छ ।
नेपालको शिक्षा नीति पनि दोषपूर्ण छ । नियमित र औपचारिक शिक्षा कक्षा कोठभित्र सीमित छ । अहिलेको शिक्षा प्रणाली रोजगारमुखी छैन् । डिग्रीमुखी छ, जसका कारण सामान्य शिक्षा हासिल गरेका मानिसले कुनै पनि काम गर्न सक्दैनन् । विद्यालयमा सिकाइने कुराको वास्तविक जीवनसँग धेरै सरोकार हुँदैन् । विद्यालय र कलेजको बढीमा १० प्रतिशत ज्ञान वास्तविक जीवनमा उपयोगी हुन्छ । विद्यालय र कलेजहरुमा विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिनुपर्छ । पैसा कसरी कमाउने र पैसाले पैसा कसरी कमाउछ ? भन्ने आर्थिक शिक्षा दिनुपर्छ । रोजगारमूलक शिक्षाको अभावले हामीलाई अपाङ्ग बनाएको छ । हाम्रा विद्यालय र कलेजहरु सेवकहरु बनाउने कारखानाको रुपमा काम गर्छन्, ब्यवसाय गरेर मालिक बन्ने कुरा सिकाउँदैनन् । किनभने हामीले अपनाएको शिक्षा प्रणालीनै त्यस्तै छ । अहिले जागिर सिमित छ, सबैले पाउन सक्दैनन् र उद्यमशीलता वा स्वरोजगारको शिक्षा नपाएकाले युवाहरु शिक्षित भए पनि अशिक्षित र बेरोजगार भएर घुम्न बाध्य छन् । शिक्षाले न बजारको माग अनुरुप ज्ञान र सीप दिन सकेको छ, न स्वरोजगारको बाटो खोज्न सकिन्छ भन्ने सिकाएको छ । त्यसैले यहाँ काम छैन भनेर पलायनको बाटो रोज्न सिकाएको छ ।
हाम्रो समाजमा ठूलाबडा भनेको राजनीतिक दलका नेताहरु हुन् । कुनै पनि दलका नेताको आर्थिक उपार्जनका लागि कुनै पेशा छैन वा देखिँदैन् । तर, तिनीहरुको रहनसहन र जीबनशैली लोभलाग्दो छ । राजनीतिक दल र त्यसका नेताहरुले आफ्ना कार्यकर्ताहरुको सीप विकासमा ध्यान दिन चाहँदैनन् । सबैजसो सरकारमा भर पर्न चाहन्छन् । त्यसैले कुनै पनि सरकार वा नेताले जनतालाई धेरै सरकारी जागिर सित्तैमा दिने वाचा गर्छन् । त्यही लोभ र लालचका कारणले कुनै पनि ब्यक्ति राजनीतिक दलमा आवद्ध हुन्छ र जागिर खान लालायीत हुन्छ । जनताको मनमा काम भनेको जागिर हो र जागिर भनेको सरकारी जागिर हो । जागिर पाउनका लागि जसको लागि वर्षौं बित्छ, वर्षौं केही नपाउँदा पनि नेताहरुको पछाडि जागिरका लागि दौडिरहन्छ । तर, उसले सीपमूलक तालिम लिन चाहँदैन् । केही उद्यम गर्न चाहँदैन वा उसले केही काम गर्न चाहँदैन । जागिर सीमित छ । तर पनि हरेक घरमा सबैले जागिर पाउनुपर्छ, जुन सम्भव छैन् । मानिसहरु स्वरोजगार बन्न चाहँदैनन् किनभने तिनीहरुका लागि यो एकदम सानो काम हो र सबै मान्छे सरकारी जागिरे बन्न सक्दैनन् । अनि तिनीहरु बेरोजगार हुन्छन्। यो बेरोजगारीको अर्को मूख्य कारण हो ।
नेपालमा यूवाहरुले रोजगारीको अर्थ सरकारी जागिर बनाएका छन् । जबसम्म यूवाहरुको रोजगारीप्रतिको सोंच परिवर्तन हुँदैन्, तबसम्म बेरोजगारी रहिरहनेछ । दक्ष बन, घरबाहिर निस्क, केही नयाँ सोंच, केही नयाँ गर, आफ्नो सीपमा मिहिनत गर भन्ने सोंच नभएर कलेज पढिसकेपछि टाई–सुट लगाएर कामको खोजीमा जान्छन् । यो पंक्तिकारले धेरै युवाहरुको अन्तर्वार्ता लिएको छ तर बजारको माग अनुरुपको ज्ञान र सीप भएको युवा कमै भेटिएका छन् । तिनीहरुसंग डिग्री त हुन्छ तर बजारले माग गरेअनुरुपको ज्ञान र सीप हुँदैन । जब कुनै कम्पनीमा अन्तर्वार्तामा सहभागी हुन्छन्, तब मात्र तिनीहरुलाई थाहा हुन्छ कि बजारले माग गरे अनुरुपको ज्ञान र सीप मसँग रहेनछ भन्ने कुरा । अनि बेरोजगारीको नारा लगाउँदै बस्छन् र यो मुलुकमा बसेर काम छैन भनेर विदेश जाने सपना बुन्न थाल्छन् । कलेज छोड्नेबित्तिकै म के कुरामा दक्ष छु ? भन्ने कुराको निश्चितता भएपछि मात्र कम्तिमा दुई वर्ष आफ्नो सीप अनुसारको काममा लाग्यो भने बेरोजगार बस्नुपर्दैन् ।
आज पनि समाजमा विभेद, भेदभाव र छुवाछुतको भावना व्याप्त छ । समाजमा सर्टिफिकेट र डिग्री भएको जनशक्ति छ । तर, बजारको माग अनुरुपको ज्ञान र सीप भएको दक्ष प्राविधिक जनशक्ति छैन् । शिक्षित र असल सीप भएका व्यक्तिहरुका लागि राम्रो संरचनात्मक व्यवस्था छैन् र तिनीहरुको लागि पारिश्रमिकको पर्याप्त व्यवस्था छैन् । समाजमा लगभग सबै क्षेत्र र तहमा समानता छैन् । राज्य संयन्त्रमा पहुँचमा भएका ब्यक्तिहरुका छोराछोरी, परिवार र आफन्तको अवस्था राम्रो र बाँकीको नराम्रो देखिने हुनाले उदासिनता बढ्दो छ । जसको पहुँच माथिल्लो तहमा छैन्, उसले आफूलाई असहाय भएको ठान्छ, जसले उनीहरुलाई पलायन हुन बाध्य पार्छ ।
विकास रोजगारी र जनसंख्या वृद्धिमा तालमेल र सामन्जस्यता भएन भने बेरोजगारी बढ्छ । जनसङ्ख्या वृद्धिले प्रत्यक्ष रुपमा श्रमशक्ति बढाएर बेरोजगारी निम्त्याउँछ किनभने रोजगार विस्तारको दर जनसङ्ख्या वृद्धिको जस्तो छिटो हुन सक्दैन। यो सत्य हो कि बढ्दो श्रमशक्तिलाई बढ्दो दरमा नयाँ रोजगारीका अवसरहरु चाहिन्छ । तर व्यावहारिक रुपमा रोजगारीको विस्तारले श्रमशक्तिको वृद्धि र बेरोजगारीलाई कम गर्न पर्याप्त हुँदैन । जनसङ्ख्या वृद्धिले अप्रत्यक्ष रुपमा पूँजी निर्माणका लागि स्रोतहरु घटाएर बेरोजगारीको अवस्थालाई असर गर्छ । नेपालमा ठूलो संख्यामा गरिवीको आधाररेखामा भएको जनसंख्या भएकोले उनीहरुको घरपरिवारमा पालनपोषण, खाद्यान्न, लत्ताकपडा, बास, औषधिमूलो र शैक्षिक सुविधा जस्ता सार्वजनिक उपभोगमा अतिरिक्त खर्च वा बढी स्रोतहरु खर्च हुन्छ । यसले आम्दानीको ठूलो हिस्सा बचत र लगानीमा मोड्ने अवसरहरु घटाउँछ जसले आर्थिक वृद्धिको बाटोमा अवरोध खडा गरेको छ र रोजगारीका अवसरहरुको वृद्धिलाई सुस्त बनाएको छ । जनसंख्या वृद्धिको तुलनामा सरकारको रोजगारी योजना पर्याप्त छैन । नेपालको विद्यमान जनसंख्यामा वार्षिक करिब दुई लाख मानिस थपिन्छन् । तर जनसंख्या बृद्धिको समानुपातिक दर अनुसार रोजगारीका अवसरहरु बढेका छैनन् । रोजगारीका अवसरहरु र जनसंख्या वृद्धि विच ठूलो खाडल रहेकोले सबै जनतालाई पर्याप्त रोजगारीको सुविधा उपलब्ध गराउनु सरकारका लागि निकै गाह्रो काम हो । सरकारले यस दिशामा पर्याप्त कदम चालेको छैन । सरकारको त्रुटिपूर्ण रोजगार योजनाले यो समस्या धेरै हदसम्म बढाएको छ, जसका कारण बेरोजगारीको समस्या दिनानुदिन बढ्दै गएको छ ।
जमिन प्रकृतिको उपहार हो । यो सधैं स्थिर रहन्छ र जनसंख्या वृद्धि जस्तै विस्तार गर्न सक्दैन। नेपालको जनसङ्ख्या बढ्दै गएकाले बढ्दो जनसंख्याका लागि जमिन पर्याप्त छैन् । फलस्वरुप भूमिमा ठूलो दबाब छ । ग्रामीण क्षेत्रका अधिकांश मानिसहरु आफ्नो जीविकोपार्जनका लागि प्रत्यक्ष रुपमा जमिनमा निर्भर छन् । जनसंख्याको तुलनामा जग्गा निकै सीमित छ । यसले ग्रामीण क्षेत्रमा कृषिमा आश्रित ठूलो संख्यामा मानिसहरुका लागि बेरोजगारीको अवस्था सिर्जना गरेको छ । ग्रामीण समाजमा कृषि नै रोजगारीको एकमात्र स्रोत हो । अधिकांश ग्रामीण जनता प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कृषिमा संलग्न छन् । तर नेपालमा कृषि मूलतः मौसमी मामिला हो। यसले ग्रामीण क्षेत्रका जनतालाई वर्षको एक विशेष मौसममा मात्रै रोजगारीको सुविधा दिन्छ । उदाहरणका लागि रोप्ने र फसल काट्ने अवधिमा मानिसहरु पूर्ण रुपमा ब्यस्त हुन्छन् भने फसल पछिको अवधिमा र अर्को रोपण अघि तिनीहरु बेरोजगार रहन्छन्। यसले जीवनस्तरमा प्रतिकूल असर पारेको हुन्छ । हाम्रो सामाजिक नियमले पनि दाजुभाई छुट्टिएपछि पैतृक सम्पत्ति जमिनलाई बाँडफाँड गरेर टुक्राटुक्रा पार्ने चलन छ । यसले कृषि क्षेत्रमा ठूलो बाधा पुर्याउँछ । जग्गा टुक्राटुक्रा हुँदै गएको र कृषि कार्य अवरुद्ध हुन थालेपछि कृषिमा आश्रित मानिसहरुको यसले रोजगारीको स्थितिमा प्रतिकूल असर पारेको छ । नेपालको कृषि पद्धति निकै पिछडिएको छ । अहिलेसम्म ग्रामीण किसानहरुले पुरानो खेती विधि अपनाएका छन् । फलस्वरुप, किसानले आफ्नो खेतीको उत्पादनबाट धेरै मानिसहरुलाई राम्ररी खुवाउन सक्दैनन् र उसले आफ्ना छोराछोरीलाई उचित शिक्षा दिन वा कुनैपनि पेशामा लगाउन असमर्थ हुन्छन् । कृषि उत्पादन व्यावसाय प्रकृतिमा आधारित र जोखिम बढि छ । साथै कति आम्दानी हुन्छ ? अनुमान योग्य छैन वा अनुमान गर्न सकिंदैन । यसले बेरोजगारीको समस्या सिर्जना गर्छ ।
साना घरेलु उद्योगको ह्रास यूवा पलायनको अर्को कारण हो । ग्रामीण क्षेत्रमा साना घरेलु उद्योगहरु रोजगारीको माध्यम हो तर औद्योगिकीकरण एवं विश्वयापीकरणको प्रक्रियाले साना घरेलु उद्योगहरुमा प्रतिकूल असर पारेको छ । साना घरेलु उद्योगहरुले उत्पादनको मात्रा र गुणस्तरको हिसाबले आधुनिक कारखानाहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । जसका कारण गाउँका उद्योगहरु ठूलो नोक्सानीमा परेका छन् र क्रमशः बन्द हुँदै गएका छन् । जसका कारण त्यहाँ काम गर्नेहरु बेरोजगार भई आफ्नो जीविकोपार्जन गर्न असमर्थ भएर पलायनको बाटो रोजेका छन् ।
नेपालमा विशेषगरी ग्रामीण क्षेत्रमा यातायातको पर्याप्त सुविधा छैन, जसका कारण खेतीपातीमा नलागेका गाउँका मानिसहरु बेरोजगार रहेका छन् । यसकारण उनीहरु आफ्नो जीविकोपार्जनका लागि कुनै पनि व्यावसाय शुरु गर्न नसक्ने र गाउँको सिमित सिमामा मात्र सीमित रहेका छन् । यातायात र सञ्चारका आधुनिक साधन नै व्यापार–व्यावसायको माध्यम हुन भन्ने चेतना र सीपका कमिको कारणले गाउँमा बेरोजगारीको समस्या सृजना गरेको छ ।
देशमा औषधि उपचार, केटाकेटी पढाउन महङ्गो, ती खर्च धान्ने गरि कमाउने रोजगारीको अवसर निकै कम छ । पढेका मान्छेले जागिर खान पर्छ सामाजिक मान्यता छ । त्यस्तै उद्योगधन्दा खोलेर सञ्चालन गर्न प्रक्रिया झन्झटिला छन । उत्पादित बस्तु ढुवानी गर्दा अनावश्यक करहरु छन् । बैंक तथा वित्तीय संस्थाबाट व्यावसायका लागि ऋण लिन सजिलो छैन् । छोरो वा छोरी विदेश छ भनेर गर्व गर्ने संस्कार विकसित भएको छ । विदेशमा सीप सिकेका अनुभवी र विशेष अध्ययन सीप हासिल गरेका व्यक्तिलाई प्रोत्साहन गरि देशमा होल्ड गर्ने वातावरण र योजना बनाउन नसक्नु आदि विषयहरु पनि युवा पलायनका कारणहरु हुन् ।
युवा पलायन गर्ने निर्णय प्रायः महत्त्वपूर्ण जीवन परिवर्तनहरुसँग सम्बन्धित हुन्छ । जस्तै, उच्च शिक्षा प्राप्त गर्ने, काम खोज्ने, घरजम गर्ने आदि । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार सन २०२२ मा विश्वमा १५ देखि २४ वर्ष उमेरका झण्डै दुई करोड ८० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरु थिए, जुन विश्वव्यापी अन्तर्राष्ट्रिय आप्रवासीहरुमध्ये आठ भागको एक भाग हो । युवा आप्रवासीको अनुपात विकसित देशहरुको तुलनामा विकासोन्मुख देशहरुमा बढी छ । जबकि युवतीहरुको अनुपात विकासोन्मुख देशहरुको तुलनामा विकसित देशहरुमा बढी छ । अविकसित र विकासोन्मुख देशहरुमा आप्रवासीहरुको झण्डै ४५ प्रतिशत महिला र केटीहरु छन् भने विकसित देशहरुमा झण्डै ५२ प्रतिशत छन् । विश्वव्यापी रुपमा लगभग ७० करोड युवाहरु विकसित र विकासशील देशहरुमा बसाइसराइ गर्छन् । धेरै यूवाहरुले गरिबी, हिंसा, द्वन्द्वबाट बच्न वा युद्ध वा जलवायु परिवर्तनको प्रभावका कारण विस्थापित हुन पनि रोज्छन् वा बाध्य छन् । त्यस्तै शरणार्थी र मानवीय कारणहरुले गर्दा पनि पलायनमा यूवाहरुको ठूलो प्रतिनिधित्व हुन्छ।
हामीले कमीकमजोरीहरु र नकारात्मक कुराहरु मात्र खोजिबस्ने कि सकारात्मक पहल गर्ने ? भन्ने अर्को विषय हो । युवाशक्ति एक देशबाट अर्को देशमा शिक्षा र रोजगारीका लागि जाने विश्वब्यापी प्रचलन हो । यो हाम्रो देशको मात्र समस्या हैन् । यो विषयलाई हामीले नकारात्मक दृष्टिकोणबाट मात्र विश्लेषण गरेर तीललाई पहाड बनाउने र आफ्नो ब्यक्तिगत एवं राजनीतिक दलीय स्वार्थ पूरा गर्ने मसला बनायौं ।
हामी नेपालीहरुको एउटा कमजोरी यो हो कि हामी आफ्नो अवस्था सुधार्न पनि इच्छुक छैनौं । यस्तो दबाब सरकार वा राजनीतिक दलका नेताहरुलाई कहिल्यै दिइएन् । हामी मेहनती छौं । धेरै देशको अर्थतन्त्र हाम्रै बलमा निर्भर छ । हामी कम स्रोतसाधन र जस्तोसुकै अवस्थामा बाँच्नमा माहिर छौं । हामी नेपालीहरु राजनीतिक इच्छाशक्तिको बलिदानमा परेका छौं । हामी भाग्यमा बढी विश्वास गर्छौं र यो जुनीमा नभए अर्को जुनीमा हुन्छ भनेर भगवानको भरोसामा बस्छौ । आँफू कर्म गर्नबाट चुक्ने तर मेरो भाग्यमा लेखेकै भन्ने मानसिकताबाट ग्रसित छौं । अर्को कुरा, अध्ययन गर्न, शिक्षा आर्जन गर्न सीप सिक्न विदेश जाने कुरालाई यूवा पलायनको रुपमा हाउगुजी बनाईएको छ । यसकलाई यूवा पलायनको डरलाग्दो अवस्था भनेर चित्रित गर्नु हुँदैन । केही व्यक्तिहरुको लागि विदेशमा बिताएको समय भनेको नयाँ अवधारणाहरु सिक्ने समय हो, व्यक्तिगत करियरमा गति लिने समय हो । यसले नेपालमा काम गर्न चाहिने जनशक्ति तयार गर्न पद्धत पुर्याउँछ । तर तिनीहरुलाई स्वदेश फर्कन प्रेरित भने गर्नुपर्छ ।
हाम्रो छिमेकी मुलुक भारतमा पनि रिलायन्स स्थापना गर्नुअघि धीरुभाई अम्बानीले मध्यपूर्वमा काम गरेका थिए । बोस, नेहरु र पटेल लन्डनमा पढेका थिए । रघुराम राजन एमआईटी विश्वविद्यालयमा पढेका थिए र आरबीआई गभर्नरको रुपमा भारत फर्कनुअघि विदेशमा काम गरेका थिए । नेपालमा पनि हर्क गुरुङ, भेषबहादुर थापा, रामशरण महत, स्वर्णिम वाग्ले जस्ता विदेशमा राम्रो जागिर गर्नेहरु र उपेन्द्र महतोजस्ता ब्यावसायीहरु आफ्नै देशमा फर्केर सफल बनेका थुप्रै उदाहरणहरु छन् । यी ठूला नामहरु मात्र होइनन्, धेरै क्षेत्रहरुमा नयाँ रचनात्मक व्यवसायहरु गरेर देखाएका छन् । विदेशमा काम गरेर उनीहरुले शिक्षा वा पैसा कमाएर स्वदेश फर्केर काम गरेका अरु थुप्रै उदाहरणहरु छन् । भर्खरै मात्र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एउटा सार्वजनिक कार्यक्रममा व्यावसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन भनेका छन् ।
नेपालमा थुप्रै अवसरहरु देखेर ब्यवसायमा लगानी गरेका ब्यवसायीहरुको लामै सूची छ, जसले सम्भावनाहरु पनि देखिरहेका छन् र नेपालमा सफल पनि बनिरहेका छन् । क्षमता भएकालाई मात्र व्यावसायले व्यावसायी बनाउँछ । ब्यावसायमा प्रवेश गर्नु ठूलो कुरा हैन् । तर चुनौतिका राजमार्गहरु छिचोल्दै जो टिकिरहन सक्छ, यो क्षेत्रको सफल यात्री उही बन्छ । एउटा उद्दमीको प्रगति र अवन्नती सिङ्गो राष्ट्र र समाजसँग जोडिएको हुन्छ ।
यूवाहरुलाई नयाँ अवसरहरु खोलेर उच्च शिक्षामा भाग लिने बाटो, राम्रो र सभ्य जागिर, व्यावसायिक अनुभव हासिल गर्ने वा व्यक्तिगत विकास गर्ने अवसरहरु खोलेर सकारात्मक प्रभाव पार्नसक्ने कुरामा हाम्रो ध्यान गएको छैन् । आत्मविश्वासको निर्माण र उनीहरुलाई आँफू र उनीहरुको देश र समुदायहरु साथै गन्तव्यको लागि लाभदायक सीप र दक्षताहरु प्राप्त गर्न मद्धत गर्छ भन्ने कुरा पनि विश्लेषण गर्नु जरुरी छ ।
नेपालमा यूवाहरुको पलायनको प्रवृत्ति बढ्दो छ । यसको एक दुई कारणहरुमात्रै छैनन्, धेरै कारणहरु छन् । यो यस्तो चक्रमा जकडिएको छ कि यो समस्या रातारात समाधान हुँदैन । यसका लागि सरकार, निजी क्षेत्र र हरेक नागरिकले आ(आफ्नो क्षेत्रबाट दायित्व निर्वाह गर्नुपर्छ ।
देशमा व्यवसायहरुको सम्भावनाहरु देखाउनुपर्ने तथा त्यसलाई चाहिने सेवाहरु सजिलै उपलब्ध गराउनु पर्छ । जस्तै कुनै उद्योग चलाउन राम्रो छ भने त्यसको दर्ता प्रक्रिया, सामान्य व्यावसायिक योजना, बजार तथा लगानीका लागि चाहिने प्रक्रिया सजिलै उपलब्ध हुनुपर्छ । प्राविधिक शिक्षा तथा रोजगारीको अवसर देशभित्र हुनुपर्छ । उद्योग व्यावसाय स्थापना तथा सञ्चालन प्रक्रिया सरकारी प्रक्रिया झन्जटिलो हुनु हुँदैन । व्यावसाय जोखिम न्युनिकरणका लागि सरकारी प्रोत्साहन तथा ग्यारेण्टी हुनुपर्छ । जस्तै वस्तु तथा सेवाहरुको न्युनतम मूल्य तोक्ने र त्योभन्दा कम भयो भने सरकारले सहयोग गर्ने नीति हुनुपर्छ । व्यावसाय गर्नका लागि सुलभ ब्याजदरमा ऋण उपलब्ध हुनुपर्छ । त्यसका लागि विशेषगरि स्थानीय सरकारले कार्यविधि बनाएर नियमित रुपमा लागु गर्नुपर्छ ।
त्यस्तै नेपालमा साना लघु उद्यम र कृषि क्षेत्रबाट पनि व्यवसायिक बन्न सकिने अवसरहरु छन् किनकि हाम्रो आफ्नै थुप्रै मौलिक र विशिष्ट उपजहरु छन् । ग्रामीणस्तरमा समेत बैंकिङ सेवा विस्तार हुँदै जानु साथै कतिपय स्थानीय तहबाट बिना धितो सहज कर्जाको व्यवस्थापन हुनु अर्को सुखद पक्ष हो । त्यसैगरि सूचना प्रविधिको विकासका कारण व्यवसाय प्रवर्द्धनको लागि स्वःअध्ययन गर्न सकिने तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका साझेदार संस्थाहरुबाट सहयोग प्राप्त गर्न सकिने र परम्परागत सीप, लोपोन्मुख एवं अर्गानिक उत्पादनले बजार लिनसक्ने थुप्रै सम्भावनाहरु छन् । देश संघीयतामा गएपछि हाल संघ, प्रदेश र स्थानीय तहबाट युवाहरुलाई वित्तीय तथा प्रवर्द्धनात्मक सहयोगहरु जस्तै उत्पादनमा आधारित अनुदान, प्रविधि र यान्त्रिकरण आदिमा सहयोग गर्ने कार्यक्रमहरुको योजना गरेका छन् ।
हाम्रो विकासको गतिले सही बाटो समात्न सक्यो भने समयसँगै विदेश जाने हौसला पनि कमजोर हुँदै जान्छ । आफ्नो पहिचान स्वीकार गर्ने र बुझ्ने प्रयास गर्नुका साथै विश्वब्यापी परिस्थितिलाई सकारात्मक रुपमा हेर्न साहसपूर्वक प्रयास गर्नु जरुरी छ । ताकि हरेक देशमा आ(आफ्नै संकट छन् । विषको बोट रोपेर अमृत फल्दैन । नकारात्मकताको साथ समय बर्बाद नगरेर आफ्नो वरपर सकारात्मक चीजहरु हेर्ने र देख्ने प्रयत्न गर्नु जरुरी छ ।
(लेखक स्वीस कन्ट्याक्ट नेपालमा सिनियर एडभाईजरको रुपमा कार्यरत छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध उनी कृषि सरोकार समाजका वरिष्ठ उपाध्यक्ष पनि हुन् । लेखकका अनुसार प्रस्तुत अवधारणा निजी हो । यसले संस्थागत अवधारणा प्रतिनिधित्व गर्दैन ।)