आज १५ कम्पनीको एजिएम : चार कम्पनीले लाभांश दिने, बोटलर्स नेपालको मात्रै ६० प्रतिशत

Advertisement

काठमाडौं । पुस २७ गते शुक्रबार (आज) नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारणसभा बस्दैछ । यीमध्ये चार कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स नेपाल (तराई) रहेका छन् ।

सपोर्ट लघुवित्तले सभामार्फत १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

Advertisement

त्यसैगरी, सिक्लेस हाइड्रोपावरको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहने बताइएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

शिवम् सिमेन्ट्सको साधारणसभाले पनि १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । कम्पनीले सभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गरिसकेको छ । लाभांश दिने अर्को कम्पनी बोटलर्स नेपाल (तराई) को साधारणसभाले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ । 

बाँकी ११ कम्पनीले बिनालाभांश प्रस्ताव नै साधारणसभा बोलाएका हुन् । बिनालाभांश सभा बोलाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर,नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, अपि पावर कम्पनी, मध्य भोटेकोशी लजविद्युत, सामलिङ पावर, एसियन हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) रहेका छन् । 

Advertisement

Advertisement