सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (सिप) के हो ? कसरी गर्ने लगानी ? प्रतिफल कसरी प्राप्त हुन्छ ?
सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (सिप) के हो ? कसरी गर्ने लगानी ? प्रतिफल कसरी प्राप्त हुन्छ ?
काठमाडौं । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (सिप) अर्थात अनुशासित लगानी योजना एउटा वित्तीय उत्पादन (फाइनान्सियर प्रोडक्ट) भए पनि यसबारे बैंककै कर्मचारीहरु पनि पूर्णरुपमा जानकार छैनन् । यो म्युचुअल फण्डकै सहायक प्रोडक्ट हो ।
यो योजना कम्तिमा एक हजार रुपियाँबाट लगानी सुरु गर्न सकिन्छ । अनुशासित तरिकाले हरेक महिना लगानी गर्दै जाने यो प्रोडक्टमा लगानी गर्दाका फाइदा धेरै छन् । कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्मा भन्छन्, ‘दश बर्षपछि मलाई यति पैसा चाहिन्छ भनेर तपाइँले आज नै योजना बनाएर लगानी गर्न सक्नुहुन्छ । पाँच–दश बर्षपछि भनौ वा अवकाशपछि मेरो छोराछोरी पढाउन यति पैसा चाहिन्छ क्याल्कुलेट गर्नुभयो भने पनि एउटा हिसाब आउँछ । त्यही रकम संकलन गर्नलाई तपाइँहरुले महिनैपिच्छे लगानी गर्दै जाने प्रोडक्ट हो सिप ।’
कसरी गर्ने लगानी ? कति हुन्छ प्रतिफल ?
म्युचुअल फण्ड उद्योगको सरदर प्रतिफल १४–१५ प्रतिशत छ । तर सिपमा लगानी गर्दा २० देखि ३० प्रतिशतसम्म प्रतिफल सुनिश्चित हुन्छ । यो योजना बजारसँगै ‘लिंक–अप’ हुन्छ भन्दै सीईओ शर्माले भने, ‘बजार एउटै प्वान्टमा रहन्न । तपाइँलाई फ्लेक्जिविलिटि हुन्छ । पाँच बर्षका लागि लगानी गर्ने योजना बनाउनु भएको थियो भने दश बर्षसम्म पनि लगानी गर्न सक्नुहुन्छ । अहिले महिनाको पाँच हजार लगानी गर्नुभएको छ भने भोलि गाह्रो भयो, दुई हजार मात्रै गर्छु भन्न पनि पाउनुभयो ।’
सिपलाई अनुभवी फण्ड म्यानेजरले व्यवस्थापन गरेको हुन्छ । अहिलेको बजारअनुसार ९ रुपियाँ न्यावमा पनि प्रतियुनिट खरीद गर्न सकिने न्याब भोलि बजार बढ्दै जाँदा १२ रुपियाँ न्याबमा पनि प्रतियुनिट खरीद गर्न सकिन्छ । त्यो ‘एभरेजिङ’को ‘लाभ’ पनि सिपमा पाइने उनले बताए । विश्वमा धेरै प्रचलनमा रहेको यो प्रोडक्ट नेपालमा पनि सुरुवात भइसकेको छ । नेपालमा एनआईबीएल एस क्यापिटलले पहिलो पटक यो प्रोडक्ट भित्राएको थियो । अहिले कुमारी क्यापिटलसहित सात वटा कम्पनीले यो प्रोडक्ट बेच्दै आएका छन् । कुमारी क्यापिटलको सीप योजनामा लगानी गर्ने छ सयभन्दा बढी लगानीकर्ता भइसकेको सीईओ शर्माले जानकारी दिए ।
उनी भन्छन्, ‘सिप प्रोडक्ट वित्तीय स्थायित्व र वित्तीय समावेशीकरणका लागि चाहिने प्रोडक्ट हो । यो विश्व बजारमा निकै चलेको प्रोडक्ट हो । नेपालमा पनि यो प्रोडक्ट सुरु भए पनि विस्तार भने हुन सकेको छैन् ।’ उनले अनुशासित लगानी र आकर्षक प्रतिफलको लागि उपयुक्त प्रोडक्ट भए पनि यसको प्रचारप्रसार पर्याप्त हुन नसक्दा लगानीकर्ताको आकर्षण बढ्न नसकेको स्वीकार गर्दै प्रचारप्रचार बढ्दै जाँदा लगानीकर्ताको आकर्षण बढ्दै जाने बताए ।
म्युचुअल फण्ड दुई प्रकारका हुन्छन् । एउटा ओपन–इण्ड र अर्को क्लोज–इण्ड । यीमध्ये सिप ओपन–इण्ड हो, जो शेयर बजारमा अरुजस्तो सुचीकृत हुँदैन् । कम्पनीले तोकेकै एजेन्टमार्फत किनबेच गर्नुपर्ने हुन्छ । यद्यपि यो ‘टी प्लस टू’मा राफसाफ हुन्छ । एक पटक ओपन–इण्ड भइसकेपछि सिपको परिपक्व हुने समय अनन्तसम्म हुन्छ ।
कति बर्षका लागि सिपमा लगानी गर्ने ? भन्ने कुरा व्यक्तिको इच्छा, उसको कमाईको प्रकृतिमा भर पर्ने सीईओ शर्माले बताए । विशेषगरी समुदायमा भेला भएर रकम जम्मा गर्नेहरुका लागि यो बढी उपयोगी प्रोडक्ट हो भन्दै उनले प्रतिफल र सुरक्षाको हिसावले सहकारी, लघुवित्तमा रकम जम्मा गर्नुभन्दा सिपमा रकम गर्दा बजारको प्रतिफल पनि लिन पाइन्, भविश्यमा आफ्ना बालबच्चा पढाउने, घुम्न जाने, गाडी किन्ने, घरजग्गा किन्ने जस्ता वित्तीय योजना सफल बनाउन पनि सहयोग पुग्ने बताए ।
सिप किस्ता बुझाउन पनि सजिलो र बेच्न पनि सजिलो प्रोडक्ट भएको उनले बताए । शर्माले भने, ‘सिप लिष्टेड नहुने भएकाले नेट एसेट्स भ्यालुका हिसावमा पनि कारोबार गर्न मिल्यो । आज घट्दो न्याबमा किनेको युनिट छ भने भोलि बढ्दो न्याबअनुसार पनि बेच्न पाइन्छ । साथै, अनलाइनमार्फत नै मासिकरुपमा रकम बुझाउन सकिन्छ । यद्यपि यसको प्रतिफल यति नै प्रतिशत हुन्छ भनेर सुनिश्चित भने गरेको हुँदैन् । अघिल्लो दिन जुन न्याब छ, सोही आधारमा आफ्नो युनिट बिक्री गर्न सकिन्छ ।’
सिप प्रोडक्टमार्फत जम्मा भएको रकम बिक्री गर्ने सम्वन्धित् कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्छन् । सीईओ शर्माका अनुसार यसको मुख्य लाभ पाँच वटा छन् । पहिलो अनुशासित लगानी, बजार जतासुकै गए पनि वा गति घट्बढ् भए पनि सिपमा लगानी गर्नेहरुलाई खासै असर गर्दैन् । दोस्रो बेनेफिट अफ कम्पाउण्डिङ । यो म्युचुअल फण्डमा लगानी गर्दा दिइने लाभांश पनि लगानी गरी त्यसबाट पनि लाभांश प्राप्त हुन्छ । यसरी लाभांश जोडिँदै जान्छ । तेस्रो भनेको लचकता । यदि कसैलाई आफ्नो सबै खर्च कटाएर मासिक १० हजारबाट सिपमा लगानी सुरु गरियो । भोलि आफ्नो योजनाअनुसार सो रकम लगानी गर्न गाह्रो भयो भने त्यसलाई पाँच हजारमा झार्न पनि पाइन्छ । दश बर्षको ठाउँमा पाँच बर्षमा छोड्छु भन्न पनि पाइन्छ । तर सुरु गरेको दुई बर्षमा बाहिरिँदा भने शर्त लागू हुन्छ । त्यसरी बाहिरिँदा १.५ प्रतिशत भने ‘एक्जिट लोड’ तिर्नुपर्ने हुन्छ । त्यसपछि बाहिरिँदा भने सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर मात्रै तिरे पुग्छ । चौंथो भनेको ‘रुपि कष्ट एभरेजिङ’ भन्छ । यो भनेको तपाइँले तिर्ने एक हजारले कहिले ९ रुपियाँ न्याबको युनिट पनि खरीद गर्न सक्ने हुनुभयो । कहिले न्याब बढेर १२ रुपियाँ हुँदा पनि त्यही एक हजारमै किन्न सक्ने हुनुभयो । पाँचौं भनेको यस्तो लगानी संस्थागतरुपमा पनि गर्न सकिन्छ । यद्यपि यो व्यक्तिको लागि लक्षित योजना हो ।
भारतलगायतका मुलुकमा यस्तो लगानीबाट हुने प्रतिफलमा कर छुट सुविधा रहे पनि नेपालमा भने सुविधा दिएको छैन् भन्दै उनले बीमा गर्दा जस्तै यस्तो म्युचुअफ फण्डमा हुने लगानीमा पनि कर सहुलियत दिनुपर्ने आवाज भने उठ्दै आएको बताए । जुन हिसावले लगानीकर्ताहरुले पोर्टफोलियोलाई डाइभर्सिफाइ गरेर लानुपर्ने थियो, त्यो कुरामा उनीहरु चुकेका छन् भन्दै सीईओ शर्माले अहिले पनि म्युचुअल फण्डको न्याब हेर्दा १० प्रतिशत डाउन कसैको पनि छैन् भने ।
उनले भने, ‘पुँजी बजारमा हेर्ने हो भने ५०–६० प्रतिशत घाटा खाएरै बसेका छन् । त्यो किन भनेको हो भने लगानीको विविधिकरण गर्न नसकेर वा नजानेर हो । जोखिम व्यवस्थापन गर्न पनि बजारको प्रवृत्ति, देशको आर्थिक अवस्थालाई विश्लेषण गरेर लगानी गर्न पनि सक्नुभएन् होला, जसले गर्दा अहिले पोर्टफोलियोमा असर पर्यो ।’ बजार मूल्य र न्याब हेर्दा म्युचुअल फण्डको मूल्य २० देखि ३० प्रतिशत रहेको शर्माको भनाई छ ।