भन्सारमा हुने ‘सेटिङ’ भत्काउँदै सुधारको प्रयास गर्दैछुः महानिर्देशक पौडेल

Advertisement

काठमाडौं। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार प्रशासनका कमिकमजोरीका बिचमा असल नियतले काम गरिरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आइतबार आर्थिक पत्रकारहरुसँग कुराकानी गर्दै उनले भन्सार प्रशासनमा हुने ‘सेटिङ’ भत्काउँदै सुधारका कामहरु अघि बढाएको बताए । भन्सार राजश्व बढाउने प्रयास गरिरहेको पनि पौडेलले बताए । 

Advertisement

उनले भने, ‘विभागमा कमिकमजोरीहरु छन् । मैले यसलाई स्वीकार गर्छु । तर सुधार गर्न असल नियतले लागिपरेको छु । म विभाग आएको सात महिना पुगेको छ । धेरै तथ्यांकहरुले नै सुधार देखाउने गरी काम गरेको छु ।’ भन्सारमा काम गर्ने सबै गलत हुन्छन् भन्ने नसोच्न र असल मानिस पनि छन् भन्ने विश्वास गर्न आग्रह गर्दै पौडेलले उनले आफूले भन्सारमा हुने सेटिङ’ भत्काउन काम गर्दै आएको दावी गरे । 

महानिर्देशक पौडेलले नेपालको राजनीतिक संयन्त्र अनुसार छिटो नतिजा आउनेगरी काम गर्न समय लाग्ने बताए । सुन तस्करीको सम्वन्धमा आफूहरुले धेरै सफलता हासिल गरेको बताउँदै तर तस्करले भने तस्करीका लागि हरेक नयाँ उपायहरु खोज्ने र तस्करीको प्रयास गर्ने बताए । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत सुन तस्करीको प्रयास भएको पछिल्लो उदाहरण दिँदै उनले नेपालको भन्सार प्रशासनले सुन तस्करीलगायत चोरीपैठारी रोक्न इमान्दार प्रयासहरु गर्दै आएको बताए । 

पौडेलले भने, ‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा तपाइँ गएर बसे पनि त्यही हो । म बसे पनि उही हो । तस्कर हामी भन्दा वा हाम्रो इन्टेलिजेन्सभन्दा निकै अगाडि छ । कतिपय अवस्थामा भन्सार चेकजाँचमै नआइपुगिकन नै सुन तस्करी हुने गरेको तथ्य हामीले फेला पारेका छौं ।’

उनले आफू महानिर्देशक बनेपछि वाइड नेटवर्क एरिया’ (वान) शाखामा राम्रा कर्मचारीलाई स्थान दिएको दाबी गरे । उनले अनुसार विभाग तथा कार्यालयहरुमा कैफियत गर्ने कर्मचारीहरुलाई स्पष्टीकरण तथा विभागीय कारबाही गर्ने गरेको पनि बताए । 

विभागका निर्देशक तथा प्रवक्ता पुण्यविक्रम खड्काले कार्यपत्र प्रस्तुत गर्दै आयात घटिरहेको अवस्थामा राजश्व भने बढेको तथ्यांक प्रस्तुत गरे । विगत वर्षको तुलनामा आयात घट्दा पनि राजश्व १९ अर्ब भन्दा बढीले बढेको विभागको भनाई छ । 

विभागको ‘वाइड नेटवर्क एरिया’ (वान) शाखाबाट अनुगमन बढाउँदा ७७ करोड राजश्व ६ महिनामै बढाउन सफल भएको उनले दावी गरे । प्रत्येक वर्ष जनवरी २७ लाई विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवसको रुपमा मनाउने क्रममा विभागले पनि विभिन्न गतिविधि गर्ने गर्छ । 

Advertisement

Advertisement