काठमाडौं । मागअनुसारको आवेदन नपरेपछि ‘कुमारी सबल योजना’ को अवधि लम्बिएको छ । अब आवेदकले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि यो फन्डमा पहिलो चरणमा फागुन २ गतेसम्म आवेदन दिन सकिने बताइएको थियो ।
यद्यपि, थप गरिएको समयअगावै अर्थात् फागुन १३ भित्रै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने कुमारी क्यापिटलले जनाएको छ ।
कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत बीउ पुँजीबापत कोष प्रवर्द्धक कुमारी बैंकलाई र योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
बन्दमुखी योजनामा आवदेकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने बताइएको छ ।