सत्तामा गए पनि ओलीले ‘मिसन–८४’ नछोड्ने

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मिसन– ८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताएका छन् । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन ८४ अभियान सञ्चालनमा ल्याउनु परेको तर्क गरे । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन– ८४ बनेको उनको भनाई थियो ।

Advertisement

ओलीले भने, ‘यहाँहरुलाई थाहा छ–आज देशको परिस्थिति आजको दिन चाहीँ अलि छिटोछिटो हिँड्न खोजेजस्तो लागिरहेको छ । त्यसो भएर म आज यहाँ आउन पनि ढिला भयो । म यहाँ आएन किन ढिला भयो भने देशको परिस्थिति छिटोछिटो हिँड्न खोज्यो के । त्यसले गर्दा त्यतापट्टि अलि अल्झायो, अल्मल्यायो । देशका परिवर्तन आवश्यक छ । हुनुपर्छ । परिवर्तन हुन्छ । र जेसुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य जुन हो, यो मिशन ८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन, त्यो भन्दा माथिको कुरा छ यो ।’ 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाई थियो । ओलीले मजदुरहरुको न्यूनतम् ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए ।

Advertisement