गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

Advertisement

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । 

वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा बिक्रीवितरण गर्न रोक लगाइएको रघुगङ्गा –२ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिए । उनका अनुसार अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीको अनुगमन गरेर कारबाही गर्न थालिएको छ ।

Advertisement

बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायतका सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्रीवितरण गर्न पुगेको बेनी नगरपालिका–८ कालिपुलमा रहेको बिक्की एण्ड बदर्शलाई रु १० हजार जरिवाना गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका एक सय बोत्तल मदिरासमेत जफत गरिएको छ ।

गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि रु १० हजार, दोस्रोपटकका लागि रु २५ हजार, तेस्रोपटकका लागि रु ५० हजार र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ । 

‘स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छौं । नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्रीवितरण गरे कारबाही गर्न थालेका छौं,’ उनले भने । 

भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो । 

उक्त व्यवस्थाको कार्यान्वयनका लागि वडाध्यक्षको नेतृत्वमा भगवती प्रहरी चौकीका प्रतिनिधि, वडा सचिव, वडा सदस्य, होटल व्यवसायीका प्रतिनिधि र समाजसेवी सम्मिलित टोलीले अनुगमन गर्ने प्रबन्ध गरिएको छ । बजारबाट भित्रने न्यून गुणस्तरका मदिराका कारण दलित समुदायमा महिलासमेत कुलतमा फसेको, पारिवारिक विखण्डन सिर्जना गरेको, जनधनको क्षति, विभिन्न जटिल स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध नै लगाउनुपरेको वडा कार्यालयले जनाएको छ । 

यस वडामा १८ वर्ष नपुगेका बालबालिकालाई मदिरा र सुर्ती–चुरोट बिक्रीवितरण गर्न नपाइने नियमलाई समेत कडाइ गरिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नं ५ झिँमा गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनकै व्यवस्थामा टेकेर आयातित मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने मदिराको गुणस्तर मापन गरेर ब्राण्डिङ गर्ने कार्यलाई अघि बढाउने योजना बनाएको जनाएको छ ।

Advertisement