रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने डरले कांग्रेस नेताहरु आक्रमणमा उत्रिएः अर्याल

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले काँग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाएका छन् । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र सिकाउन खोज्ने काँग्रेसले आफूलाई बोल्नका लागि मात्रै प्रजातन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्नसमेत गरे । अर्यालले काँग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भए पनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए । 

Advertisement

उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा काँग्रेसका युवा नेताहरु तड्पिएको बताए । अर्यालले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न काँग्रेसलाई आग्रह गरे । उनले काँग्रेसले हामी बोलिरहन्छौँ, तँ सुनिराख, तर बोल्ःन पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए । 

अर्यालले भने, ‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले । उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ । तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ । अचम्म लाग्छ । जनताले त भोट हालिहाल्छ नि तपाईले राम्रो काम गर्नुभयो भने । वाकतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, ए हाम्रो ७० वर्षको, ५० वर्षको इतिहास छ, लौ न त ठिकै छ, तपाईले नै सिकाएको लोकतन्त्रअनुसार हामीले पनि त बोल्न पाउँछ होला । तपाईले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला ।’ 

उनले थपे, ‘तपाईले प्रश्न नै प्रश्न गर्नुभयो, गाली नै गाली गर्नुभयो, अब तपाईहरुले यतिसम्म गर्नुभयो की कहाँ के बोल्नुहुन्छ भन्ने बिर्सिनुभयो, त्यस कारणले म त्यो सम्झाइदिन्छु, मेरा कमी कमजोरी के हो, मेरो मुखबाट उत्तर दिने मौका दिनुपर्छ, प्रश्न मात्रै दिने जाँचमा उत्तर नदिने भए प्रश्नको मतलव भएन । उत्तर दिन दिनुस् भन्दा होइन, होइन, होइन, बोल्न पाउँदैनस्, तैँले बोल्न पाउँदैनस्, तँ सुनि मात्रै र, हामी गाली गरिरहन्छौँ, तैँले बोल्न पाउँदैनस्। गज्ज्व छ । गज्ज्वको लोकतन्त्र सिकाउनु भएछ ।’

अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक–दुई लाख रुपियाँसम्म दिने बताए । उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । 

अर्यालसहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गरे । उनले भने, ‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपियाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ ।मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु ।’

श्रममन्त्री अर्यालले कुनैपनि दिन देशको कानूनले अपराध नगरिकन हिरासतमा जानुपर्छ भनेको खण्डमा आफू जान तयार रहेको बताए । उनले केही गर्छु देशका लागि भनेर आउनेलाई हिरासतमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरु गएर बस्न तयार रहेको बताए । 

Advertisement