फास्ट ट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको सरकारलाई निर्देशन

Advertisement

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको समितिको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । 

Advertisement

त्यस्तै समितिले दार्चुला–टिङ्कर सडक लगायतका सेनाले बनाउँदै गरेका सडकहरुलाई पर्याप्त बजेट उपलब्ध गराउन पनि निर्देशन दिएको छ । समितिले उक्त क्षेत्रमा काम गर्ने सबै सैनिकहरुलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ । बैठकले द्रुततर आयोजनामा निर्धारित समयमा नै सक्ने कार्यका साथ सेनाले गरेको प्रयासप्रति सहयोग पुर्याउन र आवश्यक सहजीकरण गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरी खतिवडाले जानकारी दिए । 

त्यसैगरी नेपाली सेनाले बनाउँदै गरेका सबै सडक आयोजनाहरु समयमै सम्पन्न गर्न र पि वान तथा राष्ट्रिय गौरवका आयोजनाका सन्दर्भमा आवश्यक निर्णय र सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको पनि उनले बताए । समिति बैठकले लाभकर छुट सम्बन्धमा सरकारले विगतमा गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा अर्थ मन्त्रालयसँग समन्वय र सरोकारवाला निकायलाई निर्देशन पनि दिएको छ ।

समितिले उपयुक्त समयमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग लगायत नेपाली सेनाले बनाएको सबै आयोजनाहरुमा स्थलगत अध्ययन तथा अवलोकन गर्ने निर्णय पनि गरेको छ ।

उक्त अवसरमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तराई–मधेश  द्रूतमार्ग सहित चारवटै उत्तर–दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताए । 

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजना कावुबाहेक निर्धारित समय र तोकिएको बजेटको सीमाभित्र पुरा गर्ने दृढता ब्यक्त गरे । उनले भने, “केही विधि र प्रक्रियाकोकारण बाहेक पूर्वनिर्धारित लक्ष्यअनुरुप नै प्रगति हासिल भाएकोछ, काबुबाहिरको परिस्थितिबाहेक आयोजना समयमै पुरा हुन्छ, प्रेरणा दिने र आत्मवल बढाउने काम गरौँ, शंका नगरौँ ।”

पुल र सुरुङ निर्माणलाई गुणस्तरीय तुल्याउन सेना अरोरात्र खटिएको बताउँदै प्रधानसेनापति शर्माले हालसम्म विनियोजित बजेटअनुरुप काम गर्न सफल भएकाले तोकिएको समयसीमा भित्र पुरा हुनेमा विश्वस्त छौँ भने ।  

करिव ७१ किमी दुरीको काठमाडौँ–तराई–मधेश दू्रतमार्ग (फाष्ट ट्रयाक)का हालसम्म ३३ प्रतिशत भौतिक र वितीय प्रगति हासिल भएको सो अवसरमा जानकारी दिइयो ।
 

Advertisement