शेयर लगानीकर्ताले तिर्ने कर ९७ प्रतिशतले बढ्यो, कुन महिना कति अशुली ?

Advertisement

काठमाडौं । लगानीकर्ताले शेयर कारोबारमा हुने फाइदाबाट सरकारलाई तिर्ने राजश्व अर्थात् पुँजीगत लाभकर ९७ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा पुँजीगत लाभकर सो दरमा बढेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको चैत मसान्तसम्मको तथ्यांकले पुष्टी गरेको हो । 

तथ्यांकअनुसार समीक्षा अवधीमा लगानीकर्ताले तीन अर्ब ७९ करोड दुई लाख रुपियाँ पुँजीगत लाभकर तिरेका छन् । यो गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा लगानीकर्ताले एक अर्ब ९२ करोड ६५ लाख रुपियाँ पुँजीगत लाभकर तिरेका थिए । 

Advertisement

गत आर्थिक बर्षभरीमा भने दुई अर्ब ९७ करोड पाँच लाख रुपियाँ पुँजीगत लाभकर उठेको सीडीएससीको तथ्यांकमा उल्लेख छ ।
शेयर कारोबारमा हुने खुद नाफामा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । शेयर किनेको एक बर्षभित्र बिक्री गरेमा ७.५ प्रतिशत र एक वर्ष पछि बिक्री गरेमा ५ प्रतिशत (नाफाको) पुँजीगत लाभकर तिर्नपर्छ । सोही अनुसार यो बराबरको कर उठेको सीडीएससीका अधिकारीहरु बताउँछन् । 

शेयर खरीद बिक्रीमा घाटा भएमा लगानीकर्ताले कर तिर्नुपर्ने छैन । विशेषगरि गत आवको तुलनामा शेयर बजारमा सामान्य सुधार आउँदा पुँजीगत लाभकर पनि बढेको बताइन्छ । यो बर्ष बीच बीचमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) परिसुचक बढ्ने गरेको छ । कारोबार रकम पनि गत आवको तुलनामा बढी छ । यी यस्ता कारण शेयर कारोबारबाट उठ्ने कर बढेको जानकारवालाहरु बताँउछन् । 

यो बर्ष साउनमा ४० करोड ८ लाख रुपियाँ, भदौमा १४ करोड ६९ हजार रुपियाँ, असोजमा २१ करोड ९५ लाख रुपियाँ र कात्तिकमा आठ करोड ४१ लाख रुपियाँ पुँजीगत लाभकर उठेको छ । दशैं तिहार जस्ता पर्वका कारण कात्तिकमा धेरै सार्वजनिक विदा थियो । त्यस कारण कात्तिकमा कारोबार दिन कम हुँदा राजश्व पनि कम उठेको बताइन्छ । 

यसैगरि, मंसिरमा ३० करोड ५३ लाख रुपियाँ, पुसमा ७४ करोड ३९ रुपियाँ, माघमा ९७ करोड २० लाख रुपियाँ, फागुनमा ४४ करोड ९ लाख रुपियाँ र चैतमा ४८ करोड ३४ लाख रुपियाँ लाभकर उठेको थियो । 

यसअघि आव २०७६–७७ मा ९८ करोड ५२ लाख रुपियाँ मात्रै यस्तो कर उठेको थियो । तर, कोरोना नियन्त्रण गर्न लगाइएको लकडाउनपछि शेयर बजार बढ्न थाल्यो । त्यसबेला नेप्से परिसुचक ३२ सय विन्दुसम्म पुगेको थियो । सोहीक्रममा २०७७–७८ मा १४ अर्ब १३ करोड ६१ लाख रुपियाँ र आव २०७८–७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपियाँ यस्तो कर उठेको थियो । 

पछि शेयर बजार घटेसँगै गत आवमा त्यो कर दुई अर्ब ९७ करोड ५ लाख रुपियाँमा सीमित भएको थियो । चालु आवमा भने त्यो पुनः बढ्दै गएको छ ।

Advertisement

Advertisement