मूल्यवृद्धि दर घट्योः घ्यू, तेल र गाडी भाडामा गिरावट, मसला र तरकारीमा उच्च महंगी

Advertisement

काठमाडौं । बजारमा वस्तु तथा सेवाको माग बढ्न नसकेपछि मुद्रास्फीति अर्थात् मुल्यबृद्धि दर थप घटेको छ । फागुनमा ४.८२ प्रतिशत रहेको मुद्रास्फीति फागुनमा ४.६१ प्रतिशतमा झरेको हो । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।  गत आवको चैत महिनामा भने मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । राष्ट्र बैंककाअनुसार पछिल्ला महिनाहरुमा मुद्रास्फीति दर निरन्तर घट्दै गएको छ । 

Advertisement

रुस–युक्रेन युद्द लगायतका कारण अन्तरराष्ट्रिय आपुर्ति श्रंखला प्रभावित भएको थियो । त्यसमाथि पेट्रोलीयम पदार्थको मुल्य पनि बढ्को थियो । त्यसले गर्दा गत आवमा विश्वभरनै महंगी दर बढेको थियो । त्यसको असरले गर्दा गत आवमा नेपालमा पनि महंगी बढेको थियो । तर, नेपालमा पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बजारमा बस्तु तथा सेवाको माग बढ्न सकेको छैन । माग नबढेपछि पछिल्लो समय मुद्रास्फीति दर घट्दै गएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

सरकारले चालु आवमा मुद्रा स्फितीलाई ६।५ प्रतिशत भित्र सिमित राख्ने लक्ष्य लिएको छ । त्योअनुसार मुद्रास्फिती नियन्त्रणमै रहेको  तथ्यांकले पुष्टी गरेको छ ।

यसरी महंगी दर घट्नु राम्रो मानिन्छ । तर, यसपाली यो तथ्यांकले नेपालको अर्थतन्त्र शिथिल अवस्थामै भएको संकेत पनि गर्ने विज्ञहरु बताउँछन् । 

तथ्यांकअनुसार चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत रहेको छ । त्यसमा मसलाको २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले मुल्य बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यता घ्यू तथा तेल मुल्य भने १०.१० प्रतिशतले घटेको छ ।

यसैगरी समीक्षा अवधीमा गैर–खाद्य तथा सेवा समूहको मुल्यबृद्धि दर ४।१४ प्रतिशत रहेको छ । त्यसमा विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत बढेको छ । यसैगरि मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले मुल्य बढेको तथ्यांकमा उल्लेख छ । यद्यपि, यातायात क्षेत्रको मुल्य ०।३३ प्रतिशतले घटेको  तथ्यांकले देखाएको छ । 

चैतमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । यसैगरि  तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशतको मुद्रास्फीति थियो ।
 

Advertisement

Advertisement