Advertisement

काठमाडौं । बिहान श्रीया गिरीको निद्रा पनि राम्रोसँग खुलेको थिएन् । मोबाइलमा इमेलको नोटिफिकेशन देखियो । आँखा मिच्दै उनले इमेल हेरिन् । त्यो इमेल हेरेपछि एकछिन श्रीया आश्चर्यमा परिन् । इमेल थियो फोर्ब्स म्यागेजिनको । 

श्रीयालाई विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले एसियाकै ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिमा छानेको रहेछ । उनले भनिन्, ‘इमेलमा डियर श्रीया भनेर होइन, डियर थर्टी अन्डर थर्टी भनेर सम्बोधन गरिएको थियो । एकछिन त म अलमलमा नै परे । सपना जस्तो पनि लाग्यो ।’ 

Advertisement

इमेल हेरेपछि अनायासमै उनको आँशु झर्यो । श्रीया आँशु लिएर नै आमा÷बुवा भएको कोठामा पुगिन् । फोर्ब्सले आफूलाई छानेको सुनाइन् । कोठामा एकछिन सन्नाटा छायो । बाबु र आमालाई पनिअपत्यारियो लाग्यो । तर त्यो सत्य थियो । उनीहरु सबै अंकमाल गरेर खुशी भए । 

अवस्था सामान्य भएपछि श्रीयाले आफूले तीन वर्षदेखि गरेको दुःख, बेलायत छोडर आउँदा अरुले गरेको व्यङ्ग्य सबै कुरा एकै पटक सम्झिइन् । त्यसपछि तयार भएर नियमित काम गर्न अफिसतर्फ लागिन् । 

श्रीयाले यो उपाधि पाउनुको एक मात्र श्रेय जान्छ उनले सुरु गरेको कम्पनी ‘ह्याप्पी माइन्ड्स’लाई । ह्याप्पी माइन्ड्सले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्छ । मानसिक समस्या छ कि छैन ? यदी छ भने त्यसबाट कसरी बाहिर निस्कने ? लगायतको सेवा दिन्छ । उनको कम्पनीले यो काम सीमित व्यक्तिलाई मात्र नभई कर्पोरेट लेबलमा पनि दिइरहेको छ । ह्याप्पी माइन्डबाट अनलाइन र फिजिकल दुवै प्रकारको सेवा लिन सकिन्छ । 

त्यसैगरी, श्रीयाको कम्पनीले विदेशमा बस्ने नेपालीहरुलाई पनि परामर्श दिइरहेको छ । यो कम्पनीमा १८ जना मेन्टल हेल्थ प्रोफेसनल छन् । केही मानसिक समस्या भए ती परामर्शदाताले के गर्दा राहत मिल्छ ? त्यही प्रकारको परामर्श दिन्छन् । यस प्रकारको परामर्श वान टु वान, ग्रुप वा अनलाइनमार्फत लिन सकिन्छ । 

नेपालमा भूकम्प, द्धन्दकाल, यौन दुर्व्यवहार, कोभिड, कामको चाप लगायतका कारण धेरैमा मानसिक समस्या रहेको उनको अनुभव छ । त्यस्तै बलत्कारको शिकार भएकाहरुमा यो समस्या धेरै देखिने गर्दछ । 

हाल श्रीयाको कम्पनीमा ४५ भन्दा धेरै कर्पोरेट हाउसको सम्झौता नै भएको छ । ती कर्पोरेट हाउसका कर्मचारीलाई ह्याप्पी माइन्ड्सले परामर्श दिन्छ र केही शुल्क लिन्छ । हालसम्म उनको कम्पनीबाट २७ भन्दा धेरै देशबाट ५७ हजार भन्दा धेरैले परामर्श लिइसकेका छ् । 

श्रीयाले यो सफलता सजिलै पाएकी होइनन् । यो सफलता पाउनुभन्दा पहिले उनी आफै डिप्रेसनको शिकार बनेकी थिइन् । २०५२ सालमा काठमाडौंमा जन्मिएकी श्रीया चेल्सी इन्टरनेशनल कलेजबाट ए लेबल सक्काएपछि उच्च शिक्षाका लागि बेलायत गइन् । स्नातक इन्टरनेशनल बिजनेशमा सक्काएपछि स्नातकोत्तर इन्टरनेशनल बिजनेश विथ प्रोजेक्ट म्यानेजमेन्टमा पूरा गरिन् । 

यही क्रममा उनले आईटी क्षेत्रको जायन्ट फेसबुकमा मार्केट रिसर्चको जागिर पाइन् । सबै राम्रै चल्दै थियो । त्यही बेलामा कोभिड महामारी सुरु भयो । कोभिडको सुरुवातमा त श्रीयालाई खास्सै केही समस्या भएन । तर लकडाउन बढ्दै जाँदा उनलाई हतास हुन थाल्यो । डिप्रेसन भयो कि भनेर श्रीयाले विभिन्न चिकित्सकहरुसँग परामर्श लिन् खोजिन् । तर उनले सोचेजस्तो परामर्शदाता पाउन सकिनन् । 

उनी भन्छिन्, ‘त्यसपछि मैले आफूभन्दा ठूलो केही होइन भनेर फेसबुकको जागिर छाडेर नेपाल फर्किए ।’ नेपाल फर्किएर परिवारसँग बस्न थालेपछि श्रीयाको समस्या हराउँदै गयो । सामान्य जीवनमा फर्किएपछि आफूले जस्तै समस्या भोगेकाहरुका लागि समाधान खोज्ने हुटहुटी उनमा जाग्यो । ‘मैले डा. सुरज शाक्यसँग सल्लाह गरे । उहाँले मलाई सहयोग गर्ने बचन दिनुभयो । त्यसपछि मैले ह्याप्पी माइन्ड्स संचालन गरे’ श्रीयाले भनिन् । 

सुरुमा घर नजिकै बानेश्वरमा संचालनमा आएको ह्याप्पी माइन्ड त्यो ठाउँले नधानेपछि अहिले झम्सिखेलमा सरेको छ। फोब्सको यो उपाधीले उनको जोशलाई दुई गुणा बनाएको छ । श्रीयाले भोलीको दिनमा यस कम्पनीलाई झन परिस्कृत गर्ने सोच बनाएकी छन् । 

उनी थप्छिन्, ‘हामी नेपालीहरु ठूलै समस्या आएपछि मात्र समाधान खोज्छौं । मानसिक समस्याको बारेमा जति छिटो सचेत भयो, त्यति छिटो समाधान हुन्छ । मेरो अबको लक्ष्य भनेको सकेसम्म धेरैलाई मानसिक स्वास्थ्यको बारेमा बुझाउने नै हो ।’ 

undefinedundefined

Advertisement

Advertisement