नेपाली कम्पनी नआएको भए विदेशीहरुले खाइसकेको थियो हिमाल आरोहणको कामः शेर्पा

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाले नेपालको चो–ओयु हिमाल चीनतर्पmबाट आरोहण गर्दा चिनियाँ त्रसित भएर चढ्नुपर्ने बाध्यता रहेको खुलासा गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले चो–ओयु चढ्दा चिनियाँ सेनासँग डराउनुपर्ने र तिब्बतीहरुले थर्काउने गरेको गुनासो गरे । शेर्पाले चीनतर्फबाट चो–ओयु चीनतर्फबाट तीन पटक आरोहण गरिसकेका छन् । 

Advertisement

चो–ओयु नेपालमा भए पनि नेपालबाट व्यापारिक रुट (बाटो) खुल्ला नगरिएका कारण चीनबाट चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । हालै नेपालतर्फबाट पहिलो पटक सात जनाको टोलीले नयाँ रुट निर्माण गर्दै आरोहण गर्न सफल भए पनि उनीहरुले बनाएको रुटलाई सरकारी निकाले अझै मान्यता दिएको छैन् । 

आफनो देशको हिमाल अर्को देशबाट आरोहण गर्नुपर्दा विभिन्न समस्या र चुनौति भोक्नु परेको सुनाउँदै मिङ्गमा शेर्पाले भने, ‘नेपाल तर्फबाट पनि पहिलो पटक नयाँ रुट निर्माण गरिएकोले अब आरोहीहरुले चो–ओयुको आरोहण गर्न चीन जान नपर्ने भएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । यसले नेपाललाई पनि फाइदा हुनेछ ।’ 

आफूले १० वर्ष अगाडिदेखि नेपालतर्फबाट चो–ओयु आरोहण गर्ने सपना देखेको सुनाउँदै उनले चिनियाँ सेना र तिब्बतीहरुको व्यवहारको कारण आफूलाई चीनतर्फबाट यो चो–ओयु चढ्न जान मन नहुने गरेको सुनाए । शेर्पाले अहिले आफ्नो कम्पनीमार्फत चढेको टिमले सफलरुपमा नयाँ रुट निर्माण गर्न र शिखरमा पुग्न सफल भएकोमा खुशी लागेको बताए । 

आठ हजार मिटरसध्येको एक हिमाल चो–ओयु आरोहणका लागि नेपालबाट पनि नयाँ रुट पहिचान हुनु देशको पनि इज्जतको कुरा हो भन्दै उनले उक्त हिमालमा नयाँ रुट खोल्ने टिम  सगरमाथामा गएको भए धेरै पैसा कमाउने अवसर भए पनि नगएर चो–ओयुमा रुट निर्माणमा लागेर देशलाई योगदान दिएको बताए । 

शेर्पाले भने, ‘सन् २००९ मा नेपाल तर्पmबाट चो–ओयु आरोहण गरेको भन्दा पनि तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको पालादेखि यो रुटबाट चो–ओयु हिमालको आरोहण गर्ने पहिलो व्यक्तिहरु हुन् । यसरी हाम्रो टिमले कमाइ भन्दा पनि देशको लागि सोच्नु ठूलो कुरा हो । यस करालाई सरकारले पनि ध्यान दिनुपर्छ र शेर्पाहरुका लागि विचार गर्नुपर्छ ।’  

सन् २००९ मा रूसी आरोही डेनिस उरुबकोले चो–ओयुको गोक्योको कुनाबाट आरोहणको प्रयास गरेको सुनाउँदै उनले तर यस पटक आफ्नो टिमले थामेको कुनाबाट पहिलो पटक रुट निर्माण गरी आरोहण गर्न सफल भएको बताए । शेर्पाले भने, ‘मैले यो क्षेत्रमा लागेर विश्वका आठ हजार भन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली बनें । यसबीचमा मेरो साथी विदेश पलायन भइसक्यो । म नेपाल मै खोले खाएर देशको निम्ति विश्वमा हिमाल चिनाउन काम गर्छु भनेर लागेको छु । त्यसका लागि सेभेन समिट ट्रेक्स खोलेको हो ।’

नेपालमा आरोहण चलाउने स्थानीय कम्पनी निकै थोरै रहेको र विदेशी कम्पनीहरुले मनलाग्दी पैसा लिएर आरोहण गराउने गरेको बेला आफूले आरोहण कम्पनी सुरु गरेको उनले बताए । शेर्पाले थपे, ‘सबै विदेशीले खाइसकेको थियो हिमाल आरोहण गराउने काम । म एक पटक विदेशमा घुम्दै गर्दा सगरमाथाको आरोहण गर्न कति पैसा खर्च लाग्छ ? भनेर एक जना विदेशीले सोध्यो ? मैले करिब ४० हजार डलर लाग्छ भने । उनले मलाई ४० हजार डलर लाग्छ भने म गत वर्ष नै सगरमाथा आरोहण गर्थें, त्यति ४० हजार डलर पहिला नै थियो भने । मैले अर्को पटक मेरो कम्पनीमा आउ, म ३० हजार डलरमै आरोहण गराइदिन्छु भने । सफल पनि गराएँ ।’

उनले भने, ‘पहिला नेपालमा जति वटा आरोहण गराउने कम्पनीहरुबाट सय जना आरोही सगरमाथामा पुगे भने ‘वाह कति धेरै मान्छे आयो यस पटक !’ भन्थे । मैले कम्पनी सञ्चालनमा ल्याएदेखि अहिले वर्षपिच्छे चार सयभन्दा थोरै देखेको छैन् सगरमाथा चढ्नेहरु । मैले सय जना विदेशी आरोही भित्राएर १० लाख डलर बुझाएको छु । तर मलाई कुनै मन्त्रालय, एयरलाइन्स, हेलिकप्टर, होटलले छुट दिएको छैन् । मैले मेरो कर्मचारीहरुलाई त खुशी राख्नुपर्यो ।’ 

जिजुबाजेदेखिको आफूहरुको पेशाबाट कमाएको पैसाले पाँच तारे होटल, ट्रेकिङ रुटदेखि देशको आधा पर्यटन थामेको छ भन्दै मिङ्गमा शेर्पाले शेर्पालाई जातको रुपमा नभएर विदेशीलाई सहयोग गर्नेलाई शेर्पा भने गरिन्छ भने । सरकारले शेर्पाको विषयमा कोष बनाएर राहत र सहयोग गर्नुपर्ने उनले बताए । आफूहरु ६० बर्ष पुगेपछि हिमालमा काम गर्न नसक्ने भएकाले त्यसपछिको जीवन जिउनका लागि सरकारले सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने शेर्पाको भनाई छ । त्यो गर्न सकियो भने अर्को सय बर्ष शेर्पालाई पर्वतीय पर्यटनमा टिकाउन सकिने उनले बताए । 

Advertisement

Advertisement