कार्यदलको बैठकमा जुटेन सहमति, मध्यमार्गी विकल्पमा पुनः छलफल हुने

Advertisement

काठमाडौं । सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिना निष्कर्ष सक्किएको छ ।

मंगलवार सिंहदरबारमा बसेको बैठकले आज पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरुबारे छलफल भएको भए पनि निष्कर्षमा भने पुगिनसकेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । 

Advertisement

उनले आजको कार्यदलको बैठक सकारात्मक भएको दावी भने गरे । सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको बताउँदै मन्त्री गिरीले सहकारीमा भएको बचतको अपचलन सम्बन्धमा प्रभावकारी ढंगले छानबिन गर्ने, कारबाही गर्ने सुनिश्चितता हुने, बचतकर्ताहरुको बचतको सुनिश्चित हुनेगरी कार्यादेश बनाउने सहमति भएको बताए । 

उनले छिटो भन्दा छिटो निष्कर्षमा पुगेर छानबिन समितिलाई कामको जिम्मेवारी दिनेगरी अघि बढ्ने निष्कर्ष निकालिएको बताए । गिरीले छानबिन अगाडि नै दोषी करार गर्नेकुरा न्यायोचित नहुने र त्यसअनुसार सरकार संसदीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताए । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लगाउँदै नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको छ ।

मन्त्री गिरीले भने, ‘वास्तवमा आजको कार्यदलको बैठक अस्तिको बसाइ भन्दा आज अलि बढी घनिभुत छलफल भयो । बैठक सकारात्मक रुपमा अघि बढेको मैले महशुस गरेको छु । जुन संसदभित्र डेडलकको अवस्था छ, महिनौँदेखि काँग्रेसले जुन विषय उठाइरहेको छ । यस विषयलाई लिएर राजनीतिक दलहरुको बीचमा डेडलक फुकाउन संसदीय छानबिन समिति बनाउने र यो समस्या पनि समाधान भएर जाने भन्ने विषयमा सहमति भएको थियो । त्यो सहमति जुन वास्तवमा व्यवहारमा कार्यान्वयन गर्न जुन कार्यदल बनेको थियो । कार्यदलले कार्यादेश निर्माण गर्ने सवालमा अहिले भएको छलफल उपलब्धिमुलक बनेको छ । ठ्याक्कै हामी निष्कर्षमा पुगिसकेको छैनौँ । विभिन्न कोणबाट छलफल गरेका छौँ ।’ 

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठक सौहाद्रपूर्ण भएको र सहमति गरेर विषय टुंग्याउने कुरामा छलफल भएको बताए । उनले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच आफ्ना आफ्ना प्रश्ताव राखिएको बताए । 

दुवै पक्षले निकास निकाल्न समझदारी बनाउने सहमति भएको बर्तौलाको भनाई छ । नाम किटान गरेर जाँदा असहज हुने भएकाले त्यसरी नजाने कुरा सत्ता पक्षबाट आवाज आएको उनले बताए । 

काँग्रेसका सांसद जीवन परियारले सहकारीको रकम अपचलनमा गृहमन्त्री संलग्न रहेको कुरा आफूहरुले बैठकमा उठाएको बताउँदै सो बारेमा थप छलफल गरी सहमतिबाट अघि बढ्ने कुरामा छलफल भएको बताए । उनले प्रमुख प्रतिपक्षले उठाएको विषयमा साझा सहमति तयार पार्नेगरी बैठकमा छलफल गरेको बताए । 

आफूहरुले स्पष्ट माग राखेको भन्दै काँग्रेसले नाम किटान गरेरै कार्यादेश बनाउने अडान कायम राखेको बताए । काँग्रेसको मागलाई लिएर सत्तापक्षले मध्यबिन्दुको प्रश्ताव ल्याउने र अर्को बैठकमा सो बारेमा छलफल गर्ने सहमति भएको बताए । 

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सौहाद्रपूर्ण वातावरणमँ छलफल भएको र सहमतिबाटै टुंग्याउने दिशामा छलफल भएको बताए । उनले सहमतिबाट कार्यादेश टुंग्याउने दिशाउन्मुख रहेको बताए । 

Advertisement

Advertisement