‘बिट द स्पिड’ नेपालकै सबैभन्दा छिटो बलरको खोजीमा वर्ल्डलिंक

Advertisement

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पिड’ अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी अभियान सुरु गरेको छ ।

यस अभियानअन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी शहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा दुई हजारभन्दा बढी युवाले आफ्नो बलिङ कौशल प्रदर्शन गरेको कम्पनीले जनाएको छ । 

Advertisement

पूर्व बिर्तामोडबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगञ्ज, हेटौडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)को सहयोगमा आयोजना गरिएको हो । नेपालका १८ शहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको यस अभियानबाट उत्कृष्ट सात ‘बिट द स्पिड’हरु काठमाडौँमा अन्तिम  प्रतिस्पर्धाका लागि छानिएका छन् ।

जसअनुसार लुम्बिनीबाट प्रदीप जैसवाल (१९), हेटौडाबाट राहुल यादव (१४), घोराहीबाट आयुष ओली (१७), काठमाडौँबाट मिलन लुइँटेल (२७), बुटवलबाट सन्देश थापा (२१), महेन्द्रनगरबाट रवि दमाई (१५) र धनगढीबाट आयुष द्वारिया (१७) अन्तिम सात प्रतियोगिकारूपमा छानिएका छन् । 

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने जानकारी वर्ल्डलिंकले दिएको छ । 

यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित एमआरएफ पेस फाउण्डेसनमा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने जनाइएको छ ।  यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरु सहितको श्रृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण गरिनेछ । साथै यसको विजेता घोषणा समेत सोही भिडियोमार्फत गरिने जनाइएको छ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको कम्पनीको भनाई छ ।

यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरुलाई खेलकुद तथा अन्य क्षेत्रमाहरु आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने वर्ल्डलिंकले आशा व्यक्त गरेको छ ।

Advertisement

Advertisement