काठमाडौं । जेठमा घरजग्गा कारोबार उच्च दरमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार गरेको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार १६१ वटा घरजग्गा कारोबार भएको छ ।
लिखित पारितको आधारमा सो बराबरको घरजग्गा कारोबार भएको देखिएको हो । कारोबार पछिल्लो दुई बर्ष यताकै उच्च हो । यसअघि २०७९ चैतमा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको थियो । त्यसपछि घरजग्गा कारोबारमा खस्किएको थियो ।
मासिक ३०–४०–५० हजारको संख्यामा घरजग्गा कारोबार भइरहेकोमा यसपाली ६१ हजार १६१ वटा घरजग्गा कारोबार भएको बिभागको तथ्यांकले पुष्टी गरेको छ ।
गत बर्ष २०८० को जेठमा ५५ हजार ६९ वटा घरजग्गा कारोबार भएको थियो । गत बैशाखमा भने ४९ हजार ७८२ वटा मात्रै यस्तो कारोबार भएको बिभागको थियो ।
चालु आवको साउनदेखि जेठसम्म अर्थात् ११ महिनामा भने देशभर चार लाख ९१ हजार ११६ वटा घरजग्गा कारोबार भएको छ । यो गत आवको सोही अवधीको तुलनामा १७.२५ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा चार लाख १८ हजार ८३७ वटा घरजग्गा कारोबार भएको थियो । गत आर्थिक बर्ष भरमा भने चार लाख ६३ हजार ३२२ वटा घरजग्गा कारोबार भएको थियो ।
तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७५ वटा घरजग्गा कारोबार भएको थियो । यसैगरि माघमा ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ वटा यस्तो कारोबार भएको देखिन्छ । यसैगरि चैतमा ५० हजार २५२, बैशाखमा ४९ हजार ७८२ र जेठमा ६१ हजार १६१ वटा यस्तो कारोबार भएको छ ।
कति उठ्यो राजश्व ?
जेठ महिनामा घरजग्गा करोबारबाट सरकारले चार अर्ब ३३ करोड ९२ लाख ४१ हजार रुपियाँ राजश्व संकलन गरेको छ । घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ ।
गत बर्ष २०८० जेठमा तीन अर्ब ७५ करोड ६० लाख रुपियाँ यस्तो राजश्व उठेको थियो । गत बैशाखमा पनि यस्तो राजश्व तीन अर्ब ८६ करोड ८१ लाख रुपियाँ थियो । तर, अहिले घरजग्गा कारोबार संख्या बढेपछि जेठमा यस्तो राजश्व संकलन बढेको छ । जेठमा उठेको राजश्व पनि पछिल्लो दुई आवको सबै भन्दा उच्च हो । गत आव र चालु आवको बैशाखसम्म यो बराबरको मासिक राजश्व उठ्न सकेको थिएन । यस अघि २०७९ असारमा भने पाँच अर्ब नौ करोड ८५ लाख रुपियाँ राजश्व उठेको थियो ।
चालु आवको साउनदेखि जेठसम्म भने यस्तो कारोबारबाट कुल ३७ अर्ब ४० करोड ६ लाख राजश्व उठेको छ । यो गत आवको सोही अवधीको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा ३६ अर्ब ८८ करोड २९ लाख यस्तो राजश्व उठेको थियो ।
बिभागको तथ्यांकअनुसार चालु आवको साउन महिनामा दुई अर्ब ९१ करोड रुपियाँ, भदौमा तीन अर्ब चार करोड रुपियाँ, असोजमा चार अर्ब आठ करोड रुपियाँ, कात्तिकमा दुई अर्ब १६ करोड रुपियाँ र मंसिरमा दुई अर्ब ८६ करोड रुपियाँ राजश्व उठेको थियो ।
यसैगरि पुसमा तीन अर्ब २० करोड रुपियाँ, माघमा तीन अर्ब ३७ करोड रुपियाँ, फागुनमा तीन अर्ब ५९ करोड रुपियाँ, चैतमा तीन अर्ब ९४ करोड रुपियाँ, बैशाखमा तीन अर्ब ८६ करोड र जेठमा चार अर्ब ३३ करोड रुपियाँ यस्तो राजश्व उठेको छ ।