काठमाडौं । काठमाडौं महानगरपालिकाबिरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आईतवारदेखि शुरु गरेको सडक प्रदर्शनलाई सोमवार पनि निरन्तरता दिइएको हो ।
कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् । कबाड व्यवसायीहरुले आज पनि माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे ।
कबाड व्यवसायीहरुले प्रदर्शनमा छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर जस्ता नारासहित प्लेकार्ड बोकेका थिए ।
रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ । कबाड व्यवसायलाई बिस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले सोही कारण आन्दोलन गर्नुपरेको बताए ।
महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।