नयाँ दिल्लीस्थित नेपाली दूतावास तास खेल्ने अड्डा बन्यो, मैले खुद देखेको छुः सिंह

Advertisement

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले सुनुवाई नगर्ने भएकाले संसदमा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क छ । 

मंगलवार संसदमा सिंहले संसदमा सांसदहरुले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोलेसरह पनि नहुने गरेको गुनासो गर्दै अहिले पनि राणा र पञ्चायत कालको सो अनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताए । 

Advertisement

सिंहले भने, ‘यो बैठकमा सांसदले बोलेको कुनै मतलव छैन । बरु बाटोमा कोही बोल्छ भने त्यसको मतलव हुन्छ । संसदको हलमा बोल्नेको अहिलेसम्म केही महत्व हुन्छ भन्ने मलाई लाग्दैन । त्यसको बाबजुत पनि यो रेकर्ड सिष्टम हो । रेकर्ड गराउनका लागि म केही कुरा राख्न चाहन्छु । विनियोजन शीर्षकमाथि छलफल गर्नु नै यहाँ बेकार छ । त्यसैकारण हाम्रो देशका लागि यो संसदीय व्यवस्था अफाप भएको छ । किनकी शुरुदेखि यो देश राणा र पञ्चायतमा हेर्केको एकल व्यक्ति र सोचको असर अहिले बहुदल गणतन्त्र आउँदा पनि त्यही सोच हुर्केको छ । कसैले भन्छ– पञ्चायत र गणतन्त्रमा फरक छ । मलाई त्यस्तो लाग्दैन । किनकी यहाँ जनप्रतिनिधिहरुको जुन बिजोग देख्छु । किनकी छोटे राजाको बीचमा बजेटको विषयमा छलफल गर्नु नै बेकार छ ।’

उनले एक बर्षमा ७८ हजार नेपाली देश छोडेर बाहिर गएको बताउँदै त्यसको कारण यही संसद र यही संसदले बनाएको सरकार भएको बताए । सिंहले शक्तिमा हुनेलाई यहाँ कुनै कानुन नलाग्ने बताए । उनले दिल्लीस्थित नेपाली दूतवास जुवा खेल्ने अड्डा बनेको बताउँदै बेलुकी राजदूतहरुले तास खेलेर बस्ने गरेको दावी गरे । 

आफूलाई तास खेल्न नआए पनि त्यहाँ तास खेल्ने गरेको आफूले देखेको भन्दै सिंहले दिल्लीस्थित दूतावास भारतमा पढ्न जाने नेताका छोराछोरीलाई स्याहार गर्ने ठाउँ बनेको, यहाँबाट उपचार गर्न, घुम्न जाने भीआईपीहरुलाई राखिदिने र आवश्यक व्यवस्था मिलाइदिने, आफू राजदूत हुँदा आफ्ना छोराछोरीलाई पनि निःशुल्क पढ्न कोटा मिलाउने ठाउँ बनेको बताए । 

परराष्ट्र मन्त्रालय र दूतावासहरु जागिर खाने अड्डा हो कि आर्थिक कुटनीतिलाई बलियो बनाउने अड्डा हो भन्दै सिंहले करोडौं खर्च गरेर दूतावासहरु खोल्दै जानुको उपलब्धी हुन नसकेको बताए । उनले परराष्ट्रले नै बनाएको मापदण्ड आफैले किन पालना नगरेको भन्दै प्रश्न गरे । 

अन्य मुलुकमा सरकार परिवर्तन हुने बित्तिकै राजदूत परिवर्तन हुँदैन तर नेपालमा हुन्छ भन्दै सिंहले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको हुकुमी शासन चलेको बताए । उनले नेपालीहरु कमजोर राहदानी बोकेर विदेश जान बाध्य हुने गरेको बताए । सिंहले आफ्ना झोले कार्यकर्तालाई नियुक्त गर्न ११ जना राजदूत फिर्ता गरिएको बताए । 

Advertisement

Advertisement