उद्योगहरुमा लोडसेडिङ गरेर विद्युत निर्यातलाई जोड दिएको प्राधिकरण घाटा कम गर्ने रणनीतिमा

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घाटा बढ्न थालेपछि विद्युत आयात घटाउँदै निर्यातलाई जोड दिन थालेको छ । विशेषगरी ठूला उद्योगहरुमा चर्को लोडसेडिङ भएको भन्दै उद्योगीहरुले विरोध गरिरहेको बेला प्राधिकरणले निर्यातलाई बढाएर आयात कम गरेको हो । 

अहिले प्राधिकरणले आयात घटाउँदै दैनिक ५० मेगावाटको सीमित गरेको छ । आन्तरिक उत्पादनले नपुगेपछि विद्युत्को आयात कायमै राखेको उसको भनाई छ । आन्तरिक मागलाई उपेक्षा गर्दै प्राधिकरणले गत जेठ १४ गते रातीबाट भारतमा चार सय मेगावाट विद्युत् निर्यात गर्न सुरु गरेको थियो । 

Advertisement

टनकपुर अन्तरदेशीय प्रसारण लाइनबाट ५० मेगावाट विद्युत आयात गरेको प्राधिकरणले गत हप्तासम्म दैनिक २०० मेगावाट भन्दा बढी विद्युत् आयात गरेको थियो । गत जेठ २७ गते पिक आवरमा ९३ मेगावाट विद्युत् आयात भएको देखिन्छ । त्यो दिन भने औसतमा २१५ मेगावाट विद्युत् आयात भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । त्यही दिन ७० मेगावाट विद्युत् निर्यात पनि भएको थियो  ।

जेठ १४ गते प्राधिकरणले चार सय मेगावाट निर्यात गरेपछि उद्योगी व्यवसायीहरुले विरोध जनाएका थिए । साथै तराईका क्षेत्रमा उच्च गर्मीमा विद्युत कटौती गरिएको भन्दै साँसदहरुले संसदमा समेत प्राधिकरणको आलोचना गरेका थिए । यता प्राधिकरणले भने चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा चार अर्ब २९ करोड रुपियाँ घाटा व्यहोरेको प्राधिकरण नेतृत्वलाई यो घाटा कम गर्नुपर्ने नैतिक संकट सिर्जना भएको छ । 

भारत निर्यात गरेको बिजुलीभन्दा भारतबाट आयात गरेको बिजुली महंगो छ । उक्त घाटा कम गर्न प्राधिकरणले आयात कम गरेर निर्यातलाई जोड दिएको हो । तर प्राधिकरणका एक अधिकारीले भने, ‘उत्पादन घटेर होइन । उत्पादन घटेको पनि छैन । तर, गर्मीका कारण माग बढेपछि विद्युत् आयात गर्न परेको हो । अघिल्लो हप्तासम्म दुई सय मेगावाटसम्म विद्युत् आयात भएको थियो । पछिल्लो समय भएको झरीले उत्पादन बढेको छ । त्यसले गर्दा धेरै विद्युत् आयात गर्न परेको छैन । यद्यपि, टनकपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ४० मेगावाट भन्दा बढी विद्युत् आयात भइरहेको छ ।’

पछिल्लो समय घरायसी ग्राहकबाट विद्युत्को माग उच्च छ । पिक आवरमा २२ सय मेगावाटसम्म विद्युत्को माग हुने गरेको छ । उत्पादन भने दुई हजार मेगावाट हराहारीमा छ । त्योअनुसार अपुग विद्युत् आयात गरिएको प्राधिकरणको भनाइ छ । 
यद्यपि, मनसुन सुरु भइसकेकाले केही दिनमै विद्युत् आयात रोकेर निर्यात सुरु गरिने जनाइएको छ । यो बर्ष एक हजारदेखि १२ सयसम्म विद्युत् निर्यात गर्ने प्राधिकरण स्रोतको भनाई छ । 

यता उद्योगीहरुले निर्यातभन्दा पनि नेपाली उद्योगहरुलाई सहुलियत दरमा बिजुली दिन आग्रह गर्दै भारतलाई सस्तोमा बिजुली दिनुभन्दा नेपाली उद्योगीलाई सहुलियत दरमा दिँदा त्यसको मूल्यअभिवृद्धि भई अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउँदै आएका छन् । तर सरकार र प्राधिकरण नेतृत्व नेपालमै विद्युतको खपत बढाउनेभन्दा पनि निर्यात गर्न लालयीत हुने गरेको छ । 

हिउँदमा १५ अर्बको विद्युत आयात
नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपियाँको विद्युत् भारतबाट आयात गरेको छ । सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको जनाइएको छ। 

यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ । यद्यपि, यसमा जेठ १७ यताको तथ्यांक समावेश छैन । 

Advertisement