तपाईं पनि झापाको, म पनि झापाको, म आग्रह गर्छु खोल्नुस् गिरिबन्धुको फाइलः शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई गिरिबन्धु टि–इस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । 

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले २०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र २०७८ सालमा केपी ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए । 

Advertisement

ओलीले आवेगले प्रश्न उठाएको भन्दै शर्माले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताए । उनले भने, ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईंहरुले सुन्नुभयो नि भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो कि गिरिबन्धु प्रकरणमा काँग्रेसले ७१ बिगाह जग्गा बेचेर कमिसन खायो । त्यो कपी कमरेडमा रहेको अधिकतम् आवेगको कुरा हो ।’ 

उनले थपे, ‘२०५२ सालमा एमालेकै सरकार हुने, भूमि सुधार मन्त्री एमालेको हुने, २०६० सालको सरकार सूर्यबहादुर थापा हुने, भूमि सुधार मन्त्री काँग्रेसको नहुने, २०७८ सालमा केपी ओलीकै टोटल सेट हुने, अनि गिरबन्धुमा निर्णय गर्दै गर्दा यही तीन वटा सरकारको पालामा हुने । काँग्रेस नै नभएको दोष काँग्रेसमाथि लगाउने ? हामी चुप लागेर सुन्नुपर्ने ? उहाँको आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि पर्दैन । काँग्रेसले जवाफ दिन्छ । आज मिडियाका अघि म यो च्याप्टर क्लोज गर्न केपी ओलीजीलाई आग्रह गर्दै के भन्न चाहन्छु भने गिरिबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।’

Advertisement

Advertisement