पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउन छोड्दैनौंः मेलम्ची

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाउने भएको छ । समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो । 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन शुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताए । नानसँगको कुराकानीमा उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको बताए । 

Advertisement

विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको लामिछानेले बताए । उनले तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने स्पष्ट पारे । 

लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताउँदै सबै सावधानीका उपायहरु अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताए । मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको उनले बताए । लामिछानेले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताए । 

उनले भने, ‘बर्खा लागेपछि मनसुन सक्रिय हुनुभन्दा एक हप्ता अगाडि मेलम्चीको टनेल बन्द गर्न धेरै विज्ञहरुको जेठ २८ गतेबाट बन्द गर्नुपर्छ भन्ने सुझाव प्राप्त भइरहेको थियो । त्यही अनुसार समाचारहरु पनि आईरहेका छन् । तर मेलम्ची खानेपानी विकास समिति मनसुन सक्रिय नभएसम्म पानी सञ्चालन गर्ने तयारीका साथ सकेका छौं ।’ 

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने लामिछाने बताए । उनले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि आयाजनाले हेडबक्स बन्द गर्ने बताए । 

अहिले आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको समितिको भनाई छ । मलम्चीको पानी बन्द भएपनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने लामिछानेले बताए । उनले मनसुन सक्रिय भएसँगै पानीका स्रोतहरु पानीको बहाव बढ्ने तथा इनारमा समेत पानी बढ्ने बताए । 

मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको उनले बताए । 

Advertisement

Advertisement