काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । कारोबार रकम भने ५ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२१ अंकले बढेको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६६.१६ अंकमा उक्लिएको छ ।
बजारमा झिनो सुधार देखिंदा विकास बैंक, वित्त, हाइड्रो, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह उचालिएका छन् भने बाँकी समूह राताम्मे भएका छन् । वित्त समूह सबैभन्दा बढी २.११ प्रतिशतले बढ्दा बैंकिङ समूह सबैभन्दा बढी ०.२९ प्रतिशतले घटेको छ ।
आज ३२२ कम्पनीका १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार १ सय १६.१५ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन नेपाल फाइनान्स र गणपति लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले नाफा कमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज मेरो माइक्रोफाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५.३७ प्रतिशतले बजार घट्दा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८.६५ रुपियाँ बराबरको कारोबार भएको थियो ।