‘एक रुपियाँ भ्रष्टाचार गरेको प्रमाण ल्याउ, राजनीतिबाट सन्यास लिन्छु’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपियाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् । 

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने बताए । 

Advertisement

गुरुङले भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने बताए । उनले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए । उनले कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको बताए । 

गुरुङले भने, ‘हामीले देश चलाउँदै गर्दा कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउने हो । हिजोका दिनमा कसले केके गरे बिर्सिदिनुस् । तर भोलिको दिनलाई कसैलाई पनि छुट हुँदैन, आगामी दिनमा काँग्रेस हुँ भन्ने मान्छेहरुले कहीँ, कतै कसैले अर्को पार्टीबाट औंला ठड्यायो भने त्यसलाई कुनैपनि हालतमा काँग्रेस भित्र ठाउँ दिनु हुँदैन । त्यो प्रण गरेर हामी अघि बढ्न आवश्यक छ ।’ 

उनले थपे, ‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न काँग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म । धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु । यही कुरा हरेक नेताले भन्नसक्ने की नसक्ने आजका दिनमा । वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन गर्नुपर्छ ।’

गुरुङले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा भइरहेको बताए । उनले पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने बताए । 

Advertisement