चुनावी सार्वजनिक बहसमा ट्रम्पको कडा प्रस्तुती, बाइडेन सुस्त

Advertisement

काठमाडौ। संयुक्त राज्य अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी प्रमुख उम्मेदवारहरुबीच भएको सार्वजनिक बहसमा विपक्षी डोनल्ड ट्रम्प कडारुपमा प्रस्तुत भएका छन् भने वर्तमान राष्ट्रपति जो बाइडेन सुस्त देखिएका छन् । 

बहसमा दुई नेताले एकअर्काको आलोचना गरे पनि ट्रम्प खरो ढंगले प्रस्तुत भएका थिए भने बाइडेनलाई जवाफ दिन कठिनाई भएको थियो । समाचार संस्था सीएनएनले गरेको बहसमा उनीहरूले आप्रवासन, गर्भपतन र विदेश नीतिजस्ता विषयमा मतभिन्नता व्यक्त गरेका थिए । 

Advertisement

युक्रेनमा रुसले जारी राखेको युद्ध र उत्तर एट्लान्टिक सैन्य सङ्गठन नेटो बारेको धारणामा पनि उनीहरू ट्रम्प र बाइडेनबीच निकै फरक मत देखिएको थियो । नोभेम्बर ५ मा हुने निर्वाचनमा बाइडेन डेमोक्र्याटिक पार्टी र ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्न लागेका छन् । उनीहरुबीच यसअघि पनि प्रतिस्पर्धा भइसकेको हो । अघिल्लो निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै बाइडेन राष्ट्रपति बनेका थिए ।

ट्रम्प पहिलदेखि नै अमेरिका पहिलो भन्ने नीतिमा बढी खरो नीति राख्दै आएका नेता हुन भने वाइडेन उदारवादी नीतिका पक्षधर हुन । तर विदेश नीतिमा भने उनीहरुबीच मत ठिक उल्टो छ । पहिलो सार्वजिक बहसमा एक जनाको बोल्ने पालोमा अर्का उम्मेदवारको माइक बन्द गरिएको थियो । 

ट्रम्पले बाइडनले लिएका विदेश नीति र अर्थतन्त्रजस्ता विषयमा आलोचना गरेका थिए । बाइडनले भने ट्रम्पले यसअघि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन गरेको प्रयास र फौजदारी अपराधको मुद्दामा दोषी ठहर भएका जस्ता प्रसङ्ग उल्लेख गर्दै आलोचना गरेका थिए । 

सन् २०२१ को ज्यानुअरी ६ मा रिपब्लिकन समर्थकहरूले अमेरिकी कङ्ग्रेसमा गरेको आक्रमणमा उनी जिम्मेवार रहे वा नरहेको भन्ने प्रश्नमा भने ट्रम्पले घुमाउरो जवाफ दिँदै पन्छिने प्रयास गरेका थिए । अघिल्लो निर्वाचनमा तीव्र प्रतिस्पर्धा देखिएको जोर्जा राज्यमा भएको बहसमा ट्रम्प र बाइडन दुवैले एकअर्कामाथि अपराध गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

बहसका क्रममा ट्रम्पले बाइडनको विदेश नीति र सैन्यनीतिको आलोचना गर्ने क्रममा विश्व तेस्रो विश्वयुद्धको नजिक पुगेको बताए । ट्रम्प पहिले पनि युद्धको आलोचक थिए । उनले उत्तर कोरियाली नेतासँग समेत शान्ति वार्ताको प्रयास गरेका थिए । यद्यपि अहिलेको बहसमा भने उनले किम जङ अन र सी जिन्पिङ तानाशाह भएको बताए । उनले विदेशी तानाशाहहरूले बाइडनलाई सम्मान नगरेको र उनीसँग नडराएको दाबी गरे ।

प्रत्युत्तरमा बाइडनले नेटोको एक सदस्यराष्ट्रमाथि आक्रमण हुँदा नेटोको नियमानुसार अमेरिका त्यसमा संलग्न हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो आवश्यकता परेको छ । विश्वलाई जोगाउन मात्रै नभएर आफ्नै सुरक्षाका लागि पनि हाम्रो आवश्यकता छ ।’ पुटिनले किएभमा गरिरहेको आक्रमणको प्रतिकार नभए थप युद्ध हुनसक्ने बाइडेनको तर्क छ ।

Advertisement

Advertisement