मदन भण्डारीको सम्झनामा रिटर्नी फेडेरेसनले गर्यो वृक्षारोपण

Advertisement

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले मदन भण्डारीको जन्मजयन्तीको अवसर पारी उनको सम्झनामा वृक्षारोपण गरेको छ । भण्डारीको जन्मदिवस असार १४ गतेका दिन फेडेरेसनले बुढानिलकण्ठ ११ स्थित कपन गढी पार्कमा वृक्षारोपण गरेको हो । 

बद्लिदो परिस्थितिमा ग्लोबल वार्मिङका कारण विश्वब्यापी रुपमा पृथ्वीको तापक्रम बढिरहेका बेला वातावरणिय सुधारका लागि नेकपा एमाले सम्बद्ध फेडेरेसनले देशैभर वृक्षारोपणलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष उत्तम अधिकारीले बताएका छन् । 

Advertisement

उक्त वृक्षारोपण कार्यक्रम अन्तर्गत कपन गढी पार्कमा २०० वटा ठुला र लामो आयु भएका प्रजातिका विरुवाहरु रोपिएको थियो । नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं प्रतिनिधि शभा सदस्य अच्युतप्रसाद मैनालीले धुपिको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

त्यसैगरी एमालेका केन्द्रीय सदस्य एवं फेडेरेसनका ईन्चार्ज डा. सुर्य पाठकले विभिन्न प्रजातिका बिरुवाहरु रोप्दै जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको आलोकमा हुर्किरहेको पार्टी र त्यसको जनसंगठनहरुले असार १४ का दिन रोपेका बिरुवाहरु मार्फत भण्डारीलाई दिर्घकालसम्म स्मरणमा राख्न र उनको सादगी एवं सैद्धान्तिक पदचापलाई पच्छ्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ को सहकार्यमा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रवक्ता नवराज भट्टराई, वडा नम्वर ११ का वडा अध्यक्ष राजु अधिकारी सहित स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । 

रोपिएका सबै बिरुवालाई आवस्यक प्राङ्गारीक मलको व्यवस्थापन फाहोरमैला व्यवस्थापन क्षेत्रको अग्रणी संस्था परिवर्तन सेवा प्रालीका अध्यक्ष मित्र प्रसाद घिमिरेले गरेका थिए ।  झण्डै २०० विरुवा रोपिएको उक्त पार्कमा वडासंगको सहकार्यमा आवस्यकता अनुसार पार्कको सरसफाई र रोपिएका बिरुवाको संरक्षणमा संगठन जोडिइरहने फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले बताएका छन् ।
 
फेडेरेसनका केन्द्र, बागमती प्रदेश र काठमाण्डौ तथा भक्तपुर जिल्लाका पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमुलक सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५० जना भन्दा बढी सहभागी थिए । १४ गते नै धनकुटा लगायत विभिन्न जिल्ला कमिटीहरुले वृक्षारोपण गरेका फेडेरेसनका प्रचार तथा प्रकाशन विभाग प्रमुख खेम कार्कीले जनाएका छन् । 
 

Advertisement

Advertisement