सीईओबाट हटाइएपछि शाहले दिए उजुरी, तर प्राधिकरण भन्छ- ‘हामी केही गर्न सक्दैनौं’

Advertisement

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट हटाइए पछि विजयबहादुर शाहले नियामक निकाय बीमा प्राधिकरणमा उजुरी दिएका छन् । 

गत बुधबार बसेको कम्पनीको सञ्चालक समितिले उनीसँगको करार सम्झौता भंग गर्ने निर्णय गरेको थियो । त्यसपछि सीईओबाट पदमुक्त भएका शाहले गत शुक्रबार प्राधिकरणमा उजुरी दिएका हुन् । 

Advertisement

उनले करार सम्झौता भंग गर्नु अघि सफाईको मौका नपाएको भन्दै प्राधिकरणमा उजुरी दिएका हुन् । तर, प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले उक्त उजुरीमाथि प्राधिकरणले थप कारवाही अगाडि बढाउन नसक्ने बताए । 

प्राधिकरणको अध्ययनले कम्पनीले सम्झौताअनुसार करार भंग गरेको देखिएको छ । त्यो अवस्थामा प्राधिकरणले यस बिषयमा थप व्याख्या गर्न नसक्ने देखिएको छ । आवश्यक परेको अवस्था शाह अदालतको प्रक्रियामा जान सक्ने प्राधिकरणको भनाइ छ । 

कम्पनीले उनलाई सफाई दिने मौका नदिई करार सम्झौता भंग गरेको थियो । बीमा ऐन २०७९ को दफा ५७ अनुसार बीमा कम्पनीले योग्यता पुगेको व्यक्तिलाई आवश्यक प्रक्रिया पुरा गरेर चार बर्षका लागि नियुक्ती गर्न सक्नेछ । साथै, सीईओलाई थप एक पटकका लागि पुनः नियुक्ति पनि गर्न सकिनेछ ।

तर, सञ्चालक समितिले सीईओ कार्य सम्पादन सन्तोषजनक नभएमा कुनै पनि बेला पदबाट हटाउन सक्नेछ । त्यसरी पदबाट हटाउनुअघि सीईओलाई स्पष्टीकरण भने सोध्नुपर्छ । तर, कम्पनीले शाहलाई स्पष्टीकरण सोधेको थिएन । सोही कारण देखाएर शाहले आफु अन्यायमा परेको भन्दै प्राधिकरणमा उजुरी दिएका हुन् । 

तर, कम्पनीले करार सम्झौता अनुसार नै सम्झौता भंग गरेको देखिएको छ । सीईओ शाह र  कम्पनी बीच भएको कार्य सम्पादन सम्बन्धी करार पत्रको बुदाँ नम्बर ९ मा कम्पनीले तीन महिनाको अग्रीम सुचना दिएर शाहलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ ।  त्यो गर्न नसके तीन महिनाको तलब भत्ता दिएर पनि सीईओलाई तत्काल हटाउन सक्ने व्यवस्था करार सम्झौता पत्रमा उल्लेख छ । 

प्राधिकरणका अनुसार कम्पनीले शाहलाई तीन महिनाको तलव भत्ता दिएर सम्झौता पत्र भंग गरेको जनाएको छ । त्यो अवस्थामा प्राधिकरणले यस बिषयमा थप कदम उठाउन नसक्ने  बताइएको छ ।

शाह २०७८ माघमा तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भई २०७९ साउन १ गतेदेखि एकीकृत कारोबार शुरु भएको थियो । 

सोही दिन अर्थात् २०७९ साउन १ गतेदेखि लागू हुने गरी शाह चार बर्षका लागि मर्जर कम्पनीको सीईओ भएका थिए । तर, २ बर्ष भन्दा बढी कार्यकाल बाँकी हुँदै कम्पनीले उनलाई पदबाट हटाएको छ ।
 

Advertisement

Advertisement