बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ

Advertisement

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ । 

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि जेठ १ गते० बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ । 

Advertisement

‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’  

परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो । 

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उहाँका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपियाँ खर्च भएको छ । 

फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्शाएको प्रतिक्रिया दिए ।  

यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।  

Advertisement

Advertisement