दुवै सदनको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ दिँदै गृह, अर्थ र शिक्षामन्त्री

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

Advertisement

प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्नेछन् । 

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा  अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै,  ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

मन्त्री भण्डारीले नै ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement