ठूला नेताको निर्देशनमा काठमाडौंका मेयर बालेनलाई अफ्ठ्यारो पार्ने काम भयोः शाही

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले राजनीतिक दलका शीर्ष नेताहरुको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा शाहीले काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा बिरोध प्रदर्शन गर्न लगाएका बताए । उनले दलहरुको राजनीतिको कारण काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताए । 

Advertisement

शाहीले दलका नेताहरुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अपm्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताए । स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्ने उनले बताए । 

शाहीले भने, ‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद हो यहाँ दलको आवश्यकता छ । दलीय राजनीति गरौँ । तर स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरुलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् ?’ 

उनले थपे, ‘हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरुलाई स्वतन्त्र छोडिदिउँ । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरुलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहीन राजनीति होस् ।’

शाहीले मन्त्रीहरुले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरु बढी गरिरहेका भन्दै संसदको भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनि लेखेर राख्न माग गरे । 

Advertisement

Advertisement