बाल यौन दुराचारको कसूरमा तपश्वी बम्जनलाई १० बर्ष कैद सजाय

Advertisement

काठमाडौं । तपश्वी रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसूरमा १० वर्ष जेल सजाय सुनाएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन भण्डारीको इजलासले सोमबार उनलाई कडा सजाय सुनाएको हो । बम्जनलाई १० वर्ष कैद सजायसहित पीडितलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति पनि भराउन भनिएको छ । 

Advertisement

स्रेस्तेदार सदन अधिकारीका अनुसार इजलासले १० असारमा नै बम्जनलाई दोषी ठहर गरेको थियो । आज उनको सजाय निर्धारण गरिएको हो । बलात्कार आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई गत पुस अन्तिम साता पक्राउ गरेको थियो । केही अभियान्ता र धार्मिक समुदायले भने उनलाई पश्चिमाहरुको डिजाइनमा गलत प्रचार गर्ने र फसाउने प्रयास भइरहेको बताउँदै आएका छन् । 

लिटिल बुद्धको उपमा पाएका बम्जनलाई पहिलेदेखि प्रहरीले खोजी गर्दै आएको भनिए पनि पक्राउ भने गरिएको थिए । दबाब बढ्दै गएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि सर्लाही जिल्ला अदालतले २०८० पुस २७ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग लागेको थियो । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको आरोप लगाए पनि बम्जनका शिष्य र शुभचिन्तकहरुले ती सबै आरोपमा सत्यता नभएको बताउँदै आएका थिए । 

तर महिला अधिकारकर्मीको सक्रियतामा २०७६ भदौ ३० मा एक युवतीले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूलाई पटकपटक बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि प्रहरीकोमा उनीविरुद्ध उजुरी परेको थियो । 

Advertisement

Advertisement