चतुर तामाङले चारै दिशाबाट गरे  ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ (५,६४२ मिटर) को १४९ औं पटक सफल आरोहण गरेका छन् । 

उनले गएको महिना जुन १४, २३ र जुन २४ तारिख गरी एकै महिनामा तीन पटक सफल आरोहण गरेका थिए । उनले १४९ औं पटक ‘माउन्ट एल्ब्रस’ को पूर्व तर्फबाट सफल आरोहण गरेका हुन् । 

Advertisement

तामाङले जुलाइको ३ तारिखका दिन रुस समय अनुसार बिहानको १० बजे पूर्व तर्फबाट ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण गर्दै चारै दिशाबाट ‘माउन्ट एल्ब्रस’ को सफलतापूर्वक आरोहण गरेका छन् । गत वर्ष उनले पश्चिम तर्फबाट आरोहण गरी सकेका छन् । उनले भने, ‘चारै दिशाबाट आरोहण गर्दा मलाई पश्चिम तर्फबाट माउन्ट एल्ब्रसको आरोहण गर्न गाह्रो रहेको महशुस भयो । दक्षिण, उत्तर भन्दा पश्चिम तर्पmबाट आरोहण गर्दा गाह्रो रहेको र पूर्व तर्फबाट पनि अलि गाह्रो रहेछ ।’

धेरै जसो आरोहीहरुले माउन्ट एल्ब्रसको आरोहण गर्ने रुट (बाटो) भनेको दक्षिण तर्फबाट हो । धेरै कमैले मात्र पूर्व र पश्चिम तर्फबाट आरोहण गर्ने गरेको उनले बताए । ‘पूर्व तर्फबाट पनि रुट (बाटो) राम्रै रहेछ, तर अलि गाह्रो चाँहि रहेछ । मैले दक्षिण र उत्तर तर्फबाट धेरै पटक सफल आरोहण गरीसकेको छु । यही दुवै रुट चाँहि क्लासिक रुट हो । पूर्व र पश्चिम तर्फबाट उक्त हिमाल एक एक पटक मात्र भयो,’ उनले थपे । 

उनी लामो समयदेखि रुसमा रहेर माउन्ट एल्ब्रसमा गाइडको काम गर्दै आएका छन् । सन २००२ देखि एल्ब्रस चढ्न थालेका उनले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । हालसम्म उनले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चोयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत हिमालहरुको सफल आरोहण गरेका छन् ।


 

Advertisement

Advertisement