पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

Advertisement

गण्डकी ।  चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

‘स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।’ गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपिएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस÷ विष्णु जेभी’ले दरबार पुनःनिर्माणको जिम्मा पाएको हो ।

Advertisement

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरुपमा दरबारको पुनःनिर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली) को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिए । 

‘परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनःनिर्माणको काम भइरहको छ, पुरातात्विक महत्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ,’ उनले भने, ‘मौलिक शैली र स्वरुपमा दरबार बन्छ ।’ 

उक्त ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनःनिर्माणमा अगुवाइ गरेको हो । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताए । 

‘अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आउँदो वर्ष पनि दरबार पुनःनिर्माण पूरा हुने देखिन्न,’ उनले भने, ‘पुरातत्व विभागले पुनःनिर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा ऐतिहासिक महत्वको सम्पदा ओझेलमा परेको छ ।’ 

ऐतिहासिक धरोहरको रुपमा रहेको दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनको भनाइ छ । 

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनःनिर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए ।

‘छिटो पुनःनिर्माण पूरा गर्न सकिएमा दरबारलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिन्छ, यसबाट सिङ्गै लमजुङ जिल्लाको पहिचान र चिनारी देश विदेशमा फैलिन्छ,’ उनले भने । 

गाउँसहरका भीमबहादुर गुरुङले पहिले झिङ्गटीले छाएको दरबार रहेको सुनाउनुभयो । पछिल्लो समय दरबारको छानो ढुङ्गाले छाइएको थियो । 

विसं १५५० मा राजा यशोब्रह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन् । दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोब्रह्मको अर्थकदको सालिकसमेत बनाइएको छ । 

Advertisement

Advertisement