एक बर्ष झुलाएर एलआईसी र एनएलजीलाई हकप्रदको अनुमति, अझै सात बीमा कम्पनी पखाईमै

Advertisement

काठमाडौं । आवेदन दिएको एक बर्षपछि एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृत पाएका छन् । 

गत सोमबार बोर्ड उक्त दुई कम्पनीलाई हकप्रद शेयर निकाष्शन गर्न अन्तिम स्वीकृति दिएको हो । 
हकप्रद वर्तमान शेयरधनीले मात्रै खरीद गर्न पाउने शेयर हो । विशेषगरि पुँजीबृद्धि गर्न हकप्रद शेयर निष्काशन गरिन्छ । 

Advertisement

एलआईसी नेपाललाई दुई अर्ब ३४ करोड ६८ लाख रुपियाँ बराबरको दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निकाष्शन गर्न अनुमति दिइएको छ । अनुपातको आधारमा यस कम्पनीले १ः०.८८ रेसियोमा हकप्रद बिक्री गर्नेछ । अर्थात् कम्पनीको एक कित्ता शेयर भएको लगानीकर्ताले ०.८८ कित्ता हकप्रद शेयर खरीद गर्न पाउनेछन् । 

यस्तै, एनएलजी इन्स्योरेन्सलाई ९६ करोड ३१ लाख २२ हजार रुपियाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ता शेयर बिक्री गर्न अनुमति दिइएको हो । कम्पनीले १०ः६.२५ को अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको हो । अर्थात् कम्पनीको १० कित्ता शेयर भएका शेयरधनीले ६.२५ कित्ता हकप्रद शेयर खरीद गर्न पाउने छन् । 

अब थप प्रक्रिया पूरा गरेर कम्पनीहरुले हकप्रद शेयर बिक्री गर्नेछन् । हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डबाट नै अन्तिम स्वीकृत लिनुपर्छ । अनुमतिका लागि एलआईसीले २०८० असोज २९ गते र एनएलजीले २०८० कात्तिक २ गते बोर्डमा आवेदन दिएका थिए । 

राजनीतिक विवाद र स्वार्थ समूहले अवरोध गर्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिँदै आएको थियो । बोर्ड नेतृत्वविहीन हुँला यस्तो शेयर निष्काशनसम्वन्धी थुप्रै महत्वपूर्ण निर्णयहरु अलपत्र पर्दै आएको छ । अझै पनि बोर्डमा पूर्ण अधिकार भएको अध्यक्ष नियुक्त भएका छैनन् । 

अहिले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई अध्यक्षको जिम्मेवारी तोकिएको छ । यसअघिका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन बन्न पुगेको हो । कहिले सरकारले र कहिले अदालतले रोक्दै आएको बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया हालै पुनः अघि बढाइएको छ । 

नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नसकेका सबै बीमा कम्पनीहरु हकप्रद शेयरमार्फत पुँजी बढाउने तयारीमा छन् । पछिल्लो निर्देशनअनुसार जीवन बीमा कम्पनीले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीले दुई अर्ब ५० करोड रुपियाँ न्यूनतम् चुक्तापुँजी कायम गर्नुपर्नेछ । त्यसका लागि बीमा कम्पनीहरु हकप्रद शेयर निष्काशन गर्दैछन् । सोहीअनुसार बिभिन्न कम्पनीहरुल बोर्डमा आवेदन दिएका थिए । त्यसमा अहिले दुई कम्पनीले मात्रै स्वीकृति पाएका छन् । बोर्डले स्वीकृति दिन ढिलाई गर्दा कम्पनीहरुको पुँजीबृद्धि योजना पनि अन्योलमा छ । 

अझै पनि सात बीमा कम्पनीको पाँच अर्ब ५३ करोड ८६ लाख ८० हजार रुपियाँ बराबरको पाँच करोड ५३ लाख ८६ हजार ८०७ कित्ता हकप्रद शेयर स्वीकृतका लागि बोर्डको पाइपलाइनमा छन् । 
नेकोले ५० करोड ३० लाख ९० हजार रुपियाँको हकप्रद जारी गर्न २०८० चैत ६ गते बोर्डमा आवेदन दिएको थियो । उक्त कम्पनीले पनि स्वीकृति पाउन सकेको छैन् । यसैगरि प्रभु महालक्ष्मीले ७३ करोड तीन लाख २० हजार रुपियाँ बराबरको हकप्रद शेयर बिक्री गर्न २०८० फागुन २२ गते आवेदन दिएको थियो । तर, अझै स्वीकृत पाउन सकेको छैन । 

यस्तै, एशियन लाइफले एक अर्ब ४२ करोड ७९ लाख रुपियाँको हकप्रदका लागि गत जेठ २३ गते, प्रभु इन्स्योरेन्सले ८३ करोड ५० लाख रुपियाँको हकप्रदका लागि असार १९ गते, सन नेपाल लाइफले एक अर्ब छ करोड ९६ लाख रुपियाँको हकप्रदका लागि असार २३ गते र नेपाल इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९३ हजार रुपियाँको हकप्रदका लागि असार २४ गते बोर्डमा आवेदन दिएका छन् । उनीहरुको आवदेन पनि स्वीकृतका लागि पाइप लाइनमा छ । यस्तै, अजोड इन्स्योरेन्सले पनि गत असोज ४ गते  ३१ करोड ५० लाख रुपियाँ बराबरको हकप्रद शेयर गर्न बोर्डमा आवेदन दिएको छ । 

यी बाहेक अन्य बीमा कम्पनीहरुले पनि हकप्रद निष्काशनका लागि आवेदन दिने तयारीमा छन् । तर, तत्काल स्वीकृत पाउने नदेखिएपछि आवेदन दिन हतार नगरेको उनीहरुको भनाइ छ ।

Advertisement

Advertisement