राष्ट्रिय वाणिज्य बैंकद्वारा संघीय सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा संघीय संसदका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ । 

संघीय संसदको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जिबी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालल संघीय सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए । 

Advertisement

उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता  बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रावा बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए । 

राष्ट्र बैंकका पूर्वगभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङ्गका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राखेका थिए । 

उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकको हाल ७७ जिल्लामा २८८ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
 

Advertisement

Advertisement